फिस्टाले बाँसको डाली नुगाउँछु भनिरहेको छ।
बाँदरले घर भत्काइ छोड्छु भनिरहेको छ।।
कराइ रहेको छ, फिस्टो बाँसको डालीमा बसेर।
डुक्री रहेको छ बाँदर घरको छानोमा बसेर।।
बाँदरको काम नै अर्काको खेती तहसनहस गर्ने।
न आफुले घर बनाउने न बनेको मन पर्ने।।
बाँदरहरूको नाम पनि हुँदैन जात मात्र हुन्छ।
नामै नभए नि मान्छेसँग मिल्दो अनुहार हुन्छ।।
मिल्दो अनुहार भएकैले झुक्काउन प्रयास गर्छ।
लुकेर बाँदर सधैँ मान्छे झैँ बन्ने प्रयास गर्छ।।
मान्छेले बाँदरसँग त्यसैले नै दूरी बनाउँछ।
बाँदरले सधैँ नै बाँदर जातिलाई सघाउँछ।।
कठै कस्तो दुर्दशा हो समाजका बाँदरहरूको।
अर्कोको घर देखेर आफैँ जल्नेहरूको।।
कहिले नक्कली अनुहार राखि आत्मतुष्टि लिने।
कहिले शान्त समाज खल्वलाउँदै आत्मतृप्ती लिने।।
खास्टोले छोपेर राखेको बिरालो झैँ म्याउँ गर्दैछ।
पर्दा च्यातिएको देख्दैन कठै लुकाछिपी गर्दैछ।।
आज फेरि बाँदरहरूको योजना छर्पस्ट भयो।
पर्दा भित्रको नौटंकी पनि बाहिर आउने भयो।।
खिमराज चालिसे, चण्डिगढ (भारत) ।