काठमाडौं । रुपन्देहीमा क्रियाशील पाँच राजनीतिक दलले एमसीसीमार्फत देशलाई अमेरिकी साम्राज्यवादको क्याम्पमा लैजाने षडयन्त्र भएको भन्दै खारेजीको माग गरेका छन् । बिहीबार बसेको पाँच दलीय बैठकले एमसीसीमार्फत ‘नेपालको असंलग्न र तटस्त परराष्ट नीतिलाई समाप्त गर्दै लैजाने र देशलाई अमेरीकी साम्राज्यवादी क्याम्पमा लैजाने निश्चित’ भएको ठहर गरेको छ ।
राष्ट्रिय जनमोर्चासहितका पाँच दलहरूले ‘एमसीसी इणडोपेसिफिक रणनीति अन्तर्गत चीनलाई घेर्ने र हिन्दप्रशान्त क्षेत्रका देशहरुलाई अमेरीकी प्रभावमा पार्ने उद्देश्यद्वारा ल्याइएको दिर्घकालिन योजना हो’ भन्दै नेपालका शासकहरुले एमसीसीलाई विकास सम्बन्धी कार्यक्रम भनेर जनतालाई भ्रम पार्दै संसदबाट अनुमोदनका लागि भरमग्दुर प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।
‘स्वयं अमेरीकाका उच्च अधिकारी र काठमाडौं स्थित अमेरिकी दूतावासले समेत यो परियोजना इणडोप्यासिफिक रणनीतिको अभिन्न अंग हो भनि बताउँदै आइरहेको र लामो समयदेखि देशहित विपरित रहेको एमसीसी लागू गर्न नहुने भनि ठूलो जनमतले बिरोध गर्दै आइरहेको परिप्रेक्षमा पुनः यसलाई संसदबाट पारित गराउने सम्भावना बढ्दै गइरहेको हुँदा उक्त प्रस्तावको विरोधमा संघर्ष गर्न पर्ने आवश्यकता हामी सबैले महशुस गरेका छौं’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
रुपन्देहीका दलहरूले पहिले ओली सरकारले एमसीसी परियोजना संसदबाट पास गराउन लगातार जोड दिइरहेको स्मरण गर्दै सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमी जनताको व्यापक बिरोधका कारण अहिले सम्म रोकिएको उल्लेख गरेका छन् । देउवा सरकारले सत्ता सम्हालेपछि पुनः नयाँ शिराबाट एमसीसी परियोजना संसदबाट पारित हुन्छ कि भन्ने संशय बढेर गएको दलहरूको आशंका छ ।
विज्ञप्तिमा दार्चुलामा भारतीय अर्धसैनिक एसएसबीद्वारा तुन काटेर नेपाली युवा जयसिंह धामीलाई बेपत्ता बनाइएको उल्लेख गर्दै अपराधीलाई कारबाहीका लागि कूटनीतिक प्रयत्न गर्न सरकारसँग माग गरिएको छ ।
यस्तै, कोरोनाविरुद्धको खोप लगाउँदा अनियमितता भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै सबै नेपालीले सहजरुपमा खोप पाउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सो विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा (माले) स्थायी कमिटि सदस्य गोपाल मणी गौतम, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव विनोद मरासिनी, देजमो नेपालका अधयक्ष राम प्रसाद पोखरेल, र विवेकशील साझा पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता केशव राज खनालको हस्ताक्षर रहेको छ ।