काठमाडौं । संसदीय समितिमा नेकपा (एमाले) का अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदबिच चर्काचर्की भएको छ । ओली पक्षका सांसद नारदमुनि रानासँग माधव नेपाल बैठकमै झोक्किनुभएको हो ।
आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको बैठकमा नेता नेपालले अध्यक्ष ओली पक्षका सांसद रानालाई ‘प्रतिगमनको मतियार’ भन्दै हकार्नुभएको छ ।
बैठकमा सांसद रानाले यो संसद जनताबाट नभई सर्वोच्च अदालतको आदेशबाट आएको बताएपछि नेता नेपालले झपार्नुभएको थियो ।
नेपालले प्रतिगमनका मतियारहरू बाहिर जानुस् भनेर रानालाई थर्काउनुभएको हो ।
त्यसपछि अर्का सांसद दीपकप्रकाश भट्टले पनि प्रतिनिधि सभा विघटनको समर्थन गर्नेलाई संसदमा रहने अधिकार नरहेको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट निर्वाचित सांसद राना केपी शर्मा ओलीको सरकारमा १३ दिन मन्त्री बन्नुभएको थियो ।
समिति बैठकका एमालेकै सांसदबीच चर्काचर्की भएपछि कांग्रेस र माओवादीका सांसदहरूले आश्चर्य मानेका थिए ।