काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुनै पनि विवादित विषय संसदमा नल्याउन र विवादित काम नगर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै पौडेलले विवादित काम नगर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि सरकारमा नजाने नीति लिएको उहँले स्पष्ट पार्नुभयो । सरकारका राम्रो कामलाई समर्थन गर्दै कमी कमजोरीको विरोध गरिने उहाँले बताउनुभयो ।
पूर्ववर्ती सरकारले विवादित एमसीसी अगाडि बढाउन खोजेको, नागरिकता अध्यादेश ल्याएको, चुरेका ढुंगा, गिट्टी भारतलाई बेच्न खोजेको उल्लेख गर्दै पौडेलले त्यस्ता विवादित काम नदोहोर्याउन सचेत गराउनुभएको हो ।
सांसद पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस्, सरकारलाई सफलताको शुभ कामना छ ।’