काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोभिड महामारीबाट आक्रान्त नेपाली जनताले खोप मागिरेका बेला ओली सरकारले मतपत्र (ब्यालेट पेपर) दिन खोजेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘जनता मागिरहेका छन् खोप, तर ओली सरकारले दुईदुई पटकसम्म दिन खोजिरह्यो मतपत्र ।’
यस्तो असंवैधानिक क्रियाकलापका कारण पाँचदलीय गठबन्धन, न्यायाधीश, अधिवक्ता, पत्रकार, नागरिक समाजसहित सबैको प्रयासले ओली सरकारको प्रतिगमन परास्त गरिएको उहाँले बताउनुभयो ।
नेपालमा अहिलेसम्म बनेका सबै संविधानमध्ये २०७२ सालको संविधान तुलनात्मक रूपमा राम्रो रहेको उहाँको भनाइ थियो ।
मन्तव्यमा उहाँले जोड्नुभयो– ‘संविधानमा ७६ (५) नराखेको भए अहिले नेपाली जनता खोपको सट्टा मतपत्र समातिरहेको अवस्था हुने थियो ।’
नेकपाका संस्थापक पुष्पलालको ४३औँ स्मृतिदिवसको अवसरमा २०७८ साउन ८ गते पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित प्रवचन कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
मन्तव्यको क्रममा अध्यक्ष केसीले नेपाली कम्युनिस्ट आन्दोलनको सङ्कट मुख्यत विचार, सिद्धान्त र राजनीति रहेको बताउनुभयो ।
‘नेपाल कम्युनिस्ट आन्दोलनको मुख्य समस्या विचार, सिद्धान्त र राजनीति हो’ उहाँले भन्नुभयो– ‘सही विचार, सिद्धान्त र राजनीति नहुँदा नेपाली कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक समस्या पनि त्यत्तिकै गम्भीर छ ।’
राणाशासन, पञ्चायती शासन र राजतन्त्र फाले पनि राजनीति गर्नेहरू आफै बदलिन नसकेको अवस्थातर्फ इङ्गित गर्दै उहाँले नेपाल कम्युनिस्ट आन्दोलनलक्ष्यतर्फ उन्मुख बनाउन सर्वहारा सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको ठम्याउनुभयो ।
सन् १९५६ को सोभियत सङ्घको बिसौँ महाधिवेशनबाटै विश्व कम्युनिस्ट आन्दोलनमा विचार, सिद्धान्तको सङ्कट आइपरेको बताउँदै उहाँले त्यसको असर नेपाल कम्युनिस्ट आन्दोलनमा पनि परेको बताउनुभयो ।
कम्युनिस्ट आन्दोलनमा आएका विकृति–विसङ्गतिको सन्दर्भमा पुष्पलालले निष्ठाको राजनीति गरेको विचार उहाँले व्यक्त गर्नुभयो ।
‘पुष्पलालले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध निर्मम र आजीवन सम्झौताहीन सङ्घर्ष गर्नुभयो’ केसीले भन्नुभयो– ‘उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई निर्णयात्मक स्थानसम्म पुर्याउन चाहनुहुन्थ्यो ।’
अध्यक्ष केसीले पुष्पलाल स्मृतिदिवसको अवसरमा विद्यमान गणतन्त्रको रक्षा गर्दै कम्युनिस्टहरू यो भन्दा पनि उन्नत व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाका लागि अघि बढ्ने बताउनुभयो ।