काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पुष्पलाललाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले गद्दार घोषणा गरेको र पछि सच्याएको बताउनुभएको छ । उहाँले पुष्पलाललाई गद्दार घोषणा गर्दा आफू र मनमोहन अधिकारीसमेत त्यो कमिटीमा रहेको स्पष्ट पार्नुभएको छ ।
पत्रकार ऋषी धमलासँगको अन्तर्वार्ताका क्रममा वैद्यले भन्नुभएको छ, ‘गद्दार भन्ने बेलामा हामी पनि सँगै थियौं । त्यो गल्ती हो भनेर हामीले मान्यौं । त्यो बेलामा के थियो भने हामी र मोहनविक्रमजी (मोहनविक्रम सिंह) एउटै पार्टीमा हुँदाखेरी, त्यो बेलामा त हेर्नुस्, गद्दार पुष्पलाल निकाल्ने बेलामा मनमोहनजी पनि सँगै हुनुहुन्थ्यो ।’
उहाँले थप्नुभयो, ‘गद्दार पुष्पलाल निकाल्नुपर्छ भन्नेमा त मनमोहनजी पनि हो । मनमोहनजी, मोहनविक्रमजीहरुले त्यो गरे। अब हामी पनि भर्खरैका थियौं । हाम्रा नेताहरुले भने, ठिकै भनेका होलान् भन्यौं, हामीले पनि भन्यौं गद्दार पुष्पलाल ।’
नेता वैद्यले पुष्पलाललाई गद्दार भन्नु गलत भएको र पछि त्यो सबैले सच्याएको बताउनुभयो । उहाँले आफूहरुले पनि आत्मालोचनासहित सच्याएको र मोहनविक्रम सिंहले पनि सच्याइसकेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली कांग्रेसको वर्ग चरित्रको ब्याख्या गर्ने शिलशिलामा उहाँलाई गद्दार भनिएको बताउनुभयो । पुष्पलालले नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजीपति चरित्रको पार्टी भनेपनि त्यो सही नभएको बताउनुभयो ।
‘त्यसकारण उहाँलाई त्यो बेलाका नेताहरुले गद्दार भने’ उहाँले भन्नुभयो, ‘त्यो बेलाका नेताहरु मोहनजी पनि हो । मनमोहन अधिकारीजी पनि हो । निर्मला लामा पनि हो ।’
उहाँले पुष्पलाल महान् नेता भएको दाबी गर्दै अहिले उहाँको विचारलाई आफूहरुले अगाडि बढाएको बताउनुभयो । केपी ओली, माधव नेपाल, झलनाथ खनालहरुले पुष्पलालको विचार त्यागिसकेको वैद्यको भनाई थियो ।