काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू अपमान सहेर नबस्ने बताउनुभएको छ ।
पुष्पलाल स्मृतिदिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा २०७८ साउन ७ गते आयोजित कार्यक्रममा नेता नेपालले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नेता नेपालले मन्तव्यको क्रममा भन्नुभयो– ‘यस रूपमा अगाडि बढ्छ, सुध्रिन्छ, रूपान्तरण हुन्छ, ठिक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’
गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास हुनु भएको उहाँको भनाइ थियो ।
सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भन्नुभयो– ‘अरूको अपमान गर्ने मान्छेले समाजको पनि अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’
मन्तव्यको क्रममा उहाँले ओली नेतृत्वको पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउनुभयो ।
‘त्यो क्रान्तिकारी पार्टीको स्वरूप लिएर एमाले अगाडि बढोस् भन्ने हामी चाहान्छौँ’ उहाँले भन्नुभयो– ‘त्यो स्वरूपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने आफूहरूको योजना भएको बताउँदै उहाँले क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको दावी पनि गर्नुभयो ।