सिलगडी । मेलका रुखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै दृष्य देखिएको छ । सानागाउँमा केही वर्षपहिले कलमी गरेको मेलका रुखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
अहिले कलमी गरिएका रुखमा फलेका नास्पातीका दाना हेर्नलायकका बनेका छन् । दश वर्षपहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेकोे थियो ।
पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भन्नुभयो– ‘केही काम नलाग्ने मेलका रुख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुसी भएका छन् ।’ खाना पकाउने दाउरासमेत नहुने उक्त रुखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रुखमा कलमी गरी नास्पाती लगाइएको थियो । यसरी नास्पाती फल्न थालेकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूर पश्चिम कृषि निर्देशनालयका निर्देशक बन्नुभएका उहाँले भन्नुभयो– ‘बिनाकामका खेर गएका रुखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौँ, अहिले मिहिनेतको फल फल्न सुरु भएको छ, अब किसानका आयआर्जन बढ्ने छ ।’
अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रुखमा कलमी गरी नास्पातीका बिरुवा लगाइदिन आग्रह गर्दै आएको निर्देशनालयले जनाएको छ । सानागाउँमा फलेका नास्पाती बिक्री–वितरणका लागि केही दिनमै यहाँका साझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताउनुभयो ।
‘हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रुखलाई कलमी गरी नास्पाती बनाएका थियौँ, सानागाउँमा नास्पाती फल्न सुरु भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौँ’ निर्देशक जोशीले भन्नुभयो । (रासस)