काठमाडौँ । मध्यम र छोटो दुरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरूले सङ्घीय सरकारले लामो दुरीको सवारी साधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दुरीका सवारी साधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । व्यवसायीहरूले सबै यातायात मजदुरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीयतहले पनि समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागले गत असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुबाहक सवारी साधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।
२०६५ मा पेट्रोलियम पदार्थ, सवारी साधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारी साधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएकोे थियो । सो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपुर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । सोही आधारमा वार्षिक रूपमा भाडा समायोजन गरिनुपर्नेमा झन्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।
संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । स्थानीयतहभित्र गुड्नेको स्थानीयतह, प्रदेशभित्र गुड्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेकोे व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ । (रासस)