काठमाडौँ । भारतले पेगासस नाम गरेको “स्पाइवेयर” को प्रयोग गरेर भारतको नयाँदिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलेको छ ।
उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारमाथि जासुसी गरेको समाचार २०७८ साउन ४ गते प्रकाशित भएका थिए ।
फ्रेन्च पत्रिका “ले मोन्डे” ले भने सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँदिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोन पनि रहेको दाबी गरेको छ ।
यतिखेर भारतको चीन र पाकिस्तानसँग अहिले तनावपूर्ण सम्बन्ध रहेको छ । उनीहरूका कूटनीतिज्ञमाथि भारतले निगरानी गरिरहेकै हुन्छ । तर, फोन ह्याकिङ गरी जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रका कूटनीतिज्ञ पनि रहेको “ले मोन्डे” लाई उद्धृत गर्दै द हिन्दु मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
“पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतमा रहेका धेरै राजदूतको नम्बर सम्भावित लक्षितको सूचीमा रहेको छ । यस सूचीमा नयाँदिल्लीमा रहेका इरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेका छन्” “ले मोन्डे” लाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ । यस सूचीमा भारतका लागि पाकिस्तानका हाई कमिस्नर पनि रहेका छन् ।
साउन ४ गते “पेगासस” को निर्माण गर्ने इजरायली कम्पनी एनएसो गु्रपबाट कथित रूपमा लिक भएको भनिएको तथ्याङ्क १७ सदस्यीय कन्सोर्टियममा रहेका विभिन्न सञ्चार संस्थानले प्रकाशित गरेका थिए । अमेरिकामा रहेको वासिङटन पोस्ट, बेलायतमा रहेको द गार्जियन र भारतमा रहेको द वायरले प्रकाशित गरेको समाचारमा जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीसमेत रहेको उल्लेख छ ।
ले मोन्डेका अनुसार २०१७ को जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरेलगत्तै “पेगासस” सफ्टवेयर प्रयोग गर्न सुरु गरिएको थियो । उक्त भेटमा मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफलसमेत भएको थियो ।
पेगाससको प्रयोग गरेर अजरबैजान, बहराइन, हङ्गेरी, भारत, काजकिस्तान, मेक्सिको, रुवान्डा, साउदी अरेबिया र युएईका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप छ ।
उता, भारत भने सरकारले जासुसी गरेको आरोपलाई खण्डन गरेको छ । तर, पेगासस स्पाइवेयर खरिद गरेको हो या होइन भन्नेबारे पुष्टि वा अस्वीकार गरेको छैन ।