टेकराज भुसाल, अर्घाखाँची।
नेपाल लाइभस्टक सेक्टर इनोभेशनले अर्घाखाँचीको भूमिकास्थानस्थित प्रगति कृषक सहकारी संस्था लिमिटेडलाई बोयर जातको बोका हस्तान्तरण गरेको छ ।
लाइभस्टक इनोभेशन विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलले भूमिकास्थान नगरपालिका १ र २ ढाकाबाङमा रहेको प्रगति कृषक सहकारी संस्था लिमिटेडको मातहतमा रहेको प्रगति सामुदायिक बोयर ब्रिडर हर्डलाई प्रजननका लागि शुद्ध नश्लको ४ वटा बोयर बोका हस्तान्तरण गरेको हो ।
हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर भुसाल, आयोजना समन्वय प्रमुख पुरुषोत्तम त्रिपाठी, पशु विज्ञ केन्द्र अर्घाखाँचीका विष्णु प्रसाद पौडेल, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलका मूल्यांकन अधिकृत लोकराज भुसाल, योजना अधिकृत खिमानन्द खनाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका नासु बिनोद कुँवर लगायतको उपस्थिति रहेको थियो।
नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलले गत असार १० गते कृषकहरूलाई सुपर नेपियर को बिरुवा, करिब एक हजार बाख्रालाई पुग्नेगरि आन्तरिक तथा बाह्य परजीवि नियन्त्रणका लागि औषधि र बाख्राको तौल व्यवस्थापनको लागि एउटा अटोमेटिक तौलने मेसिन समेत हस्तान्तरण गरेको थियो । यस्तै, ३० जना बाख्रापालक कृषकलाई खोर सुधारको लागि ६ लाख रुपैयाँसमेत उपलब्ध गराएको थियो।
हस्तान्तरण समारोह प्रगति कृषक सहकारी संस्था लिमिटेड भूनपा १ र २ ढाकाबाङका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम) को अध्यक्षतामा सम्पन्न भएको थियो ।