काठमाडौं । राष्टिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आशंकासहित विश्वासको मत दिने स्पष्ट पर्नुभएको छ । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सम्बन्धमा भएको छलफलका क्रममा पौडेलले अफ्नो पार्टीले देउवालाई समर्थन गर्ने बताउनुभयो ।
दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा बस्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो काम गरे विरोध गर्ने बताउनुभयो ।
‘विश्वासको मतको पक्षमा राष्ट्रिय जनमोर्चाले मतदान गर्छ। र प्रतिपक्षमा बसेर सहयोग गर्छ,’ सांसद पौडेलले भन्नुभयो, ‘सरकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्दै हामी अगाडि जाने छौं।’
उहाँले प्रतिगमनलाई परास्त गरिए पनि प्रतिगमन पूर्ण रुपमा परास्त भने भइनसकेको प्रति सचेत गराउनुभयो । ‘प्रतिगमनको एउटा कदमलाई हामीले परास्त गर्न सकेको पक्कै हो। तर प्रतिगमन पूर्ण रुपले सिद्धिसकेको अवस्था होइन। यसले हरेक कोणबाट फेरि पनि ढुकेर बसेको अवस्था छ र त्यसरी अगाडि बढ्ने खतरा अझै पनि देखा परिरहेको छ,’ पौडेलले भन्नुभयो ।
उहाँले पूर्वप्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिलाई सर्वोच्च अदालतले सच्याइदिएको बताउनुभयो । दुई दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर ओलीले नै राजनीतिमा अदालतलाई हावी हुने अवस्था बनाइदिएको दाबी पनि गर्नुभयो ।
पौडेलले प्रधानमन्त्री देउवालाई विगतमा आफैँले गरेका गल्ती कमजोरी सच्याएर अघि बढ्न सुझाव पनि दिनुभयो ।