काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को दशौँ एनआरएन ग्लोबल सम्मेलन र साधारण सभा आगामी २०७८ कात्तिक ६–८ गते तदनुसार अक्टोबर २३–२५, २०२१ का दिन हुने भएको छ ।
शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो निर्णय गरेकोे हो । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो ।
त्यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो ।
बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउन्डेसन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ ।
बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।