काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले बालसाहित्यबारे नवौँ मासिक कार्यक्रम सम्पन्न गरेको छ ।
“नेपालमा बालसाहित्यको अवस्था” शीर्षकमा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम २०७८ असार ३१ गते सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै साहित्यकार रामदेव पाण्डेले बालसाहित्यप्रति वामपन्थीहरूको ढिलो ध्यान गएको बताउनुभयो ।
तर ढिलै भए पनि वामपन्थीहरूले यस क्षेत्रमा गरेको कामको भने उहाँले समुचित मूल्याङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘बालबालिकाका लागि लेखिएका सबै साहित्य बालसाहित्य हुन्’ उहाँले भन्नुभयो– ‘तर बालसाहित्य बालबालिकाले मात्रै लेखेको साहित्यलाई वा प्रौढले मात्रै बालसाहित्य लेख्छन् भन्ने अवधारणा दुवै गलत हो ।’

उहाँ बालसाहित्य पनि एकै प्रकृतिको नहुने बताउँदै भन्नुभयो– ‘न्यूनतम रूपमा चार उमेर समूहमा निर्धारित गरेर बालसाहित्य लेखिनुपर्दछ ।’
नेपालमा २००८ सालदेखि “बालसखा” पत्रिकामार्फत् बालसाहित्यको संस्थागत सुरुवात भएको उहाँले बताउनुभयो ।
‘अहिले धेरै बालसाहित्य लेखिएका छन्’ उहाँले भन्नुभयो– ‘गोरखापत्र संस्थानले अहिलेसम्म पनि “मुना” बालपत्रिका प्रकाशन गर्नु खुसीको विषय हो ।’
त्यस सन्दर्भमा स्नातकोत्तर र विद्यावारिधी तहमा समेत बालसाहित्यको प्रवेश हुनुलाई पनि सुखद परिघटना मान्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले निजीक्षेत्रबाट व्यापक सङ्ख्यामा बालसाहित्य प्रकाशन र वितरण भइरहनुलाई उचित मान्नुपर्ने बताउनुभयो ।
नयाँ परिवेशमा बालबालिकाको रुचिअनुसार बालसाहित्य रचना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘अहिले “एकादेशमा राजा थिए…” वा फर्सीबाट राजकुमार बनेको कथाले अहिलेका बालबालिकाको जिज्ञासा मेटाउन सक्दैन’ उहाँले भन्नुभयो– ‘अबको विज्ञान, प्रविधिको युगमा सोहीअनुसारका प्रगतिशील र विज्ञानसम्मत बालसाहित्य रचना हुुनुपर्दछ ।’
साहित्यकार पाण्डेले बालसाहित्यको उन्नयनका लागि अभिभावकमा समेत जागरण आउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अन्पाका महासचिव तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले बालबालिकाको चरित्र निर्माण धेरै नै गम्भीर विषय भएको बताउनुभयो ।

‘हामीले फैसला गर्नुपर्दछ, हाम्रा बालबालिकाहरू दीपक मनाङे बन्ने कि चित्रबहादुर केसी बन्ने ?’ उहाँले मानव समाजको भविष्यका लागि बालबालिकाप्रति अत्यधिक ध्यान दिनुपर्ने बताउनुभयो ।
बालसाहित्यको गम्भीर महत्त्व रहेको बताउँदै उहाँले अन्पाले यही महत्त्वप्रति ध्यान दिएर यो कार्यक्रम राखेको बताउनुभयो ।
कार्यक्रम अन्पाका अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको अध्यक्षतामा अघि बढेको थियो । सचिव गिरीप्रसाद बुढाले सञ्चालन गर्नुभएका सो कार्यक्रममा कोषाध्यक्ष प्रकाश थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मनलाल ओलीले “चिनारी”, विशाल दर्लामीले “परदेशीको जीवन”, हरिप्रसाद सापकोटाले “यात्री” र अन्जना श्रेष्ठले “फलफूल होइन” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।