काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आन्दोलनरत अखिल (छैठौं) सहित पााच विद्यार्थी संगठनसँगको वार्तापछि निगमले मूल्य घटाएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको विज्ञप्तिमार्फत जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।
मूल्यवृद्धिका विरुद्ध अखिल (छैठौं), नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनयिनले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका थिए ।
गाडीभाडा २८ प्रतिसतसम्म वृद्धि
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको खुलेको छ । यातायात व्यवस्था विभागले असार २७ गतेको निर्णय अनुसार अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गरेको जनाएको छ ।
बुधबार प्रकाशित सूचनाअनुसार यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो ।
उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ। विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो ।
अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको विभागले जनाएको छ।
