काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविलाई असार ३० गते पुुरस्कार प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा “नेपालको गीत” शीर्षकबाट प्रथम नुवाकोटकी भैरवी भूगोल र “देशको नक्सा” शीर्षकबाट यस वर्ष पुरस्कृत भोजपुरकी कविता राईलगायत हुनुहुन्छ ।
वर्ष २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता “सङ्कल्प” द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको “आमाको आदेश”, दोलखाकी देवकी अभिलाषीको “आमा एक विश्वविद्यालय” र तेह्रथुमकी रेजिना अम्गाईंको “समृद्ध नेपालको सपना” शीर्षकका कविता तृतीय भएको थियो ।
यस वर्ष धादिङकी अमृता स्मृतिको “डढेलोपछि पनि वसन्त आउँछ” द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको “युगिन प्रतिध्वनि”, ताप्लेजुङकी सविता बरालको “आमा म आएँ अब” र नुवाकोटका प्रकाश सिलवालको “बोधिसत्वको खोप” शीर्षकका कविता तृतीय भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते आयोजना महोत्सव आयोजना गर्दै आएको छ ।
२०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ ।