दमौली । तनहुँको चुँदीरम्घालाई भाषा अनुसन्धान केन्द्र बनाइने भएको छ । आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा असार २९ गते शुभकामना वक्तव्य जारी गर्दै उहाँले सो घोषणा गर्नुभएको थियो ।
सो अवसरमा उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुत बनाउनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘भाषा निरन्तर रूपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्वानहरूलाई अनुरोध गर्दछु ।’
उहाँले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्यभूमि जनाउँदै भन्नुभयो– ‘साहित्यकारका लागि तनहुँ तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रका रूपमा स्थापित गर्नु आवश्यक छ ।’
पुण्यभूमिको समृद्धिका लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गर्न उहाँले प्रदेश सरकार सरोकारपक्ष सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाउनुभयो ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई मुुख्यमन्त्री नेपालीले स्मरण गर्नुभयो । रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युगयुगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।
१९७१ असार २९ मा तनहुँको चुँदीरम्घा गाउँमा कुलीन परिवारमा भानुको जन्म भएको हो ।