हेम विजी
मौसम नआउँदै बेमौसम मै
समय नआउँदै बेसमय मै
र चैत नआउँदै
असोज मै झरे केही पातहरू
ति बेमौसमका पातहरू
झर्दै झर्दै
हावामा उडे
हावामा उड्दै गए !
आखिर
ती अनुशासन विहीन पातहरू थिए
जुन पातहरू
प्रकृति समयको नियम तोडेर झरे
ती फुटपरस्त पातहरू थिए
जुन पातहरू
अर्को बोटको हाँगामा गाँसिन हिँडे
ती अराजक पातहरू थिए
जुन पातहरू
बोट सँगको एकता भत्काएर झरे !
त्यसैले
ती अनुशासन विहीन पातहरूले
कहिल्यै
आफ्नो आत्मआलोचना गरेनन्
लाखौं पातहरू हरिया भएको बोटमा
किन हामी पहेँलियौं
किन हामी ओइलियौं
किन हामी
सुक्दै सुदै झर्यौं
कहिल्यै गल्तिको महसुस गरेनन् !
बरु
ती अराजक पातहरूले
आफू पहेलिँदै ओहिलिदै र सुक्दै
झरेको आरोप
जरालाई दिएका छन्
फेदलाई दिएका छन्
हाँगालाई दिएका छन्
र आक्रोश बोटलाई पोखेका छन् !
यति बेला
ती अनुसासन विहीन पातहरू
ती फुटपरस्त पातहरू
निकै
सुक्दै सुक्दै गए जस्तो छ
हावामा उड्दै उड्दै गए जस्तो छ
र सराङ सराङ आवाज
निकै
ठूलो आइरहेको छ
सायद बढालेर फाल्न समय
लाग्छ होला
घर आँगान र पिंढीसम्म
अराजक पातहरूको खात छ
अराजक पातहरुको उत्पात छ !!