काठमाडौँ । पूर्व माओवादी नेताहरूले माओवादी–केन्द्र खारेज गर्न निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ ।
माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूले माओवादी–केन्द्र अवैधानिक रहेको भन्दै २०७८ असार २३ गते निवेदन दिएका थिए ।
उनीहरूले माओवादी–केन्द्र छापामार र भूमिगत शैलीमा सञ्चालन भएको भन्दै दल दर्ता खारेज गर्न माग गरेका थिए ।
उनीहरूको निवेदनमा छलफल गर्न आवश्यक नभएकाले निवेदन खारेज गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठका अनुसार आज बसेको आयोगको बैठकले माओवादी–केन्द्र खारेज गर्न परेको निवेदन उपर कुनै कारवाही अगाडि नबढाउने निर्णय गरेको हो ।
अब अदालत जान्छौँ: मणि थापा
नेकपा एमाले स्थायी कमिटी सदस्य मणि थापाले निर्वाचन आयोगले निवेदन खारेज गरेपछि अब आफूहरू अदालत जाने बताउनुभएको छ ।
आफूहरूले राम्रो नियतले नै निर्वाचन आयोगमा उजुरी हालेको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उहाँको आरोप छ ।
उहाँले अब पूर्वमाओवादी बसेर सल्लाह गर्ने र अदालत जाने बताउनुभयो ।