काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले भोलि असार १९ गते देशव्यापी मसाल जुलुस गर्ने भएका छन् ।
त्यसैगरी उनीहरूले असार २० गते प्रतिगमनको विरुद्धमा रहेका विद्यार्थी आन्दोलनका पूर्व अध्यक्ष तथा नेताहरूसित अन्तरक्रिया गर्ने छन् भने असार २१ गते संविधानको रक्षाको सन्देश दिन संविधानको प्रति प्रदर्शन गर्ने भएका छन् ।
२०७८ असार १८ गते बसेको पाँच विद्यार्थी सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । आजै जारी प्रेसनोटमा सो जानकारी गराइएको छ ।
त्यस्तै बैठकले त्रिभुवन विश्व विद्यालयमा एमफिल, पिएचडी गर्दा लाग्ने शुल्क बढाइएकोमा फिर्ता गराउन आन्दोलन गर्ने, रिइन्स्युरेन्स कम्पनी दर्ता गर्दा भएको अनियमितताको तत्कालै छानबिन गर्ने, कोरोना महामारी विरुद्ध अग्रपङ्क्तिमा रहेका स्वाथ्यकर्मीको सम्मानमा बनाइएको भित्तेचित्र मेट्ने काठमाडौँ महानगरपालिकाको कार्यको विरोध गर्ने, चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा संलग्न विद्यार्थीका लागि प्रत्येक ७२ घण्टामा एक पटक पिसिआर गर्नुपर्ने निर्णय खारेज गर्ने तथा पाँच वटासम्म परीक्षा दिने विद्यार्थीलाई पहिलो पिसिआर वा एन्टिजेन परीक्षणलाई मान्यता दिने र राजनैतिक, संवैधानिक र शैक्षिक प्रतिगमनका विरुद्धको विद्यार्थी आन्दोलनमा भएको प्रहरी दमनको निन्दा तथा भत्र्सना गरेको उल्लेख छ ।
प्रेसनोटमा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजिव ढुङ्गाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठको हस्ताक्षर रहेको छ ।
