काठमाडौं । कानून मन्त्री लिलानाथ श्रेष्ठले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई बंशजको नागरिकता दिँदा देश फिजी नबन्ने दाबी गर्नुभएको छ ।
कानून मन्त्रालयले ६ महिने प्रगति सार्वजनिक गर्न मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले नागरिकता प्रदान सम्बन्धमा संविधानले गरेको व्यवस्थामा आफूहरुले केही पनि थपघट नगरेको बताउनुभयो ।
‘हाम्रो संविधानले मानिसहरु जन्मेपछि जन्मसिद्ध अधिकार हो नागरिकता भनेको छ ।त्यसकारण आमाबुबाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् , उसको छोरा छोरीले बंशजको नागरिकता पाउने भनेर हाम्रो संविधानमा व्यवस्था छ । त्यो व्यवस्था अनुसार हामीले फुलस्टप, कमा पनि चेञ्ज नगरेर…, सबै दलको सहमति छ । यसमा अहिले कुनै दलले के भन्छ, फिजी हुन्छ रे । कसरी हुन्छ फिजी ?’
मन्त्री श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ल्याउने अधिकार दिएकारले सरकारकाले जनताको हितका लागि अध्यादेश ल्याएको बताउनुभयो ।
मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा १६ वटा अध्यादेश जारी गरेको उल्लेख छ । सो विवरणलाई उदृत गर्दै पत्रकारहरुले सरकारले संसद छलेर अध्यादेश जारी गर्ने र अध्यादेशबाट नै शासन चलाउने नीति लिएको हो भनी प्रश्न गरेका थिए ।
पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले भन्नुभयो, ‘मौलिक अधिकारबाट कहिलेसम्म नागरिकलाई हामीले बञ्चित राख्ने ? अध्यादेश भनेको आवश्यकता अनुसार संसद नचलेको बेलामा जारी गर्ने भनेर संबैधानिक व्यवस्था अनुसार हामीले गरेको हो । जनताका लागि ल्याएको हो । अहिले प्रतिपक्षीमा हुँदा उहाँहरुले भन्नुहुन्छ, यो अध्यादेशबाट शासन चलायो भनेर । त्यस्तो होइन ।’
यस्तै, मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएको बताउनुभयो । उहाँले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्रभाग्यपुर्ण भनी टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गाडीमा चढाएर लगे । यो दूर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्ँत्रीले (हास्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्री ज्यूले मन्त्री ज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्री ज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो , त्यो ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिनुभएको थियो । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।