काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तबरले तयारी गरिएको जनाएको छ ।
विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमतानुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्धएयरलाई ३१, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि यही असार १७ गते देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो ।
कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो ।