पोखरा । गण्डकी प्रदेशका दुई मन्त्रीले जिममेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीको मन्त्रालय तोक्नुभएको हो ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालले शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेको मन्त्रालय भने तोकिएको छैन। स्वतन्त्र सभासद मनाङे र जनता समाजवादी पार्टीका आचार्यले आफूलाई दिइने भनिएको मन्त्रालय अस्वीकार गर्नुभएको छ ।
आचार्यसँग मुख्यमन्त्री पोखरेलले अर्थ मन्त्रालय दिनेगरी सहमति गर्नुभएको थियो । मनाङेले आफूलाई भौतिक योजना मन्त्रालय दिनु पर्ने माग गर्दै आउनु भएको छ ।
मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारीममा मुख्यमन्त्री पोखरेल हुनुहुन्थ्यो । आचार्य र मनाङेको मन्त्रालय नतोकिएपछि उनीहरु विनाविभागीय नै छन् ।
सत्तारुढ दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिल्दा गण्डकी सरकारले अझै पूर्णता पाउन सकेको छैन ।