काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको सुझबुझपूर्ण राजनीति अनुकरणीय भएको बताउनुभएको छ । बुधबार महामन्त्री सिंहसँगको भेटमा मुख्यमन्त्री पोखरेलले उहाँको स्वास्थ्यलाभ र दीर्घजीवनको समेत कामना गर्नुभयो ।
भेटका क्रममा मुख्यमन्त्री पोखरेलले राष्ट्रिय जनमोर्चालाई प्रदेश सरकारमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । उहाँले महामन्त्री सिंहको सुझबुझपूर्ण राजनीति गण्डकी सरकारका लागि मार्गनिर्देश हुने अपेक्षा गरेको बताउनुभयो ।
‘गण्डकी प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय जनमोर्चाको भूमिका महत्वपूर्ण छ। अब सरकारमा पनि सहकार्यका लागि यहाँले वातावरण निर्माण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
जवाफमा मसाल महामन्त्री सिंहले अहिले आफ्नो पार्टीको सरकारमा सामेल नहुने बरु गुण र दोषका आधारमा समर्थन गर्ने नीति रहेको स्पष्ट पार्नुभएको थियो ।

‘हाम्रो पार्टीको अहिले सरकारमा जाने नीति छैन। सरकारले गर्ने राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नेछौं’ सिंहले भन्नुभयोे, ‘अहिले मुख्यतः प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र प्रतिगामी चरित्रविरुद्धको संघर्ष मुख्य प्रश्न हो। ओलीको यो प्रतिगनको यात्रा अझै कहाँ पुग्छ भन्ने टुंगो छैन। त्यसकारण लोकतान्त्रिक शक्तिहरुबीच एकता अहिलेको आवश्यकता हो।’
उहाँले मुख्यमन्त्री बनेकोमा पोखरेललाई बधाई दिनुका साथै कार्यकाल सफलताको पनि शुभकामना पनि दिनुभयो ।
भेटका क्रममा गण्डकी प्रदेशका मन्त्री कुमार खड्काले राष्ट्रिय जनमोर्चाको सुझबुझपूर्ण निर्णय र अडानकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले अब दलहरुबीच लोकतान्त्रिक चरित्रको रक्षा र विकास निर्माणका विषयमा सहकार्य हुने पनि स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीका एक जना सांसद (कृष्ण थापा) लाई त्याग गरेर भए पनि राष्ट्रिय जनमोर्चाले आफ्नो नीतिप्रति दृढता देखाएको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले सरकारमा सहभागी दलहरुबीच मन्त्रालयका विषयमा कतिपय कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार गर्न नसकिएको बताउनुभएको थियो । उहाँले मन्त्रिपरिषमा सहभागितालगायतका कतिपय कुराहरु प्रदेशस्तरमा भन्दा पनि केन्द्रीयस्तरबाटै टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा भएको भेट वार्तामा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, सचिव हिमलाल पुरी र पूर्वसचिव कृष्ण अधिकारीलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।