काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले नै सञ्चारमाध्यम सञ्चालन गर्नेगरी वागमती प्रदेश सरकारले बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएको छ । वागमती प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैँ सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको छ ।
कुनै पनि तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा बागमती प्रदेश सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
पटक पटक ध्यानाकर्षण गराए पनि बागमती प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैँ सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निणर्य तत्काल फिर्ता लिन महासंघले जोडदार माग गरेको छ ।
प्रदेश सरकार आफैँले सञ्चारमाध्यम सञ्चालन गर्दा यसले नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवम् स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ ।
‘लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी वागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्नेगरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ ।’
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध रहेको यो निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा यसविरुद्ध कडा रुपमा जान बाध्य हुने चेतावनी दिएको छ ।