सन्तोष सिम्खडा ##
दक्षिण दाहिना भएपछि
दक्षिणा पाएको हुँ मैले
एक थान उपप्रधानमन्त्री ।
सजिलो त कहाँ छ र ?
मलाई पनि
प्रभुको आदेश मान्नुपर्छ
जे गर भन्यो त्यो गर्नुपर्छ
स्वविवेक नै बन्धक राखेर
केवल छाप लगाउनु छ मैले
रबरस्ट्याम्प बनेर ।
खोल्नुछ नागरिकता पसल
बेच्नुछ नागरिकता
अनि किन्नुछ
आजीवन सांसद पद
पारिको जनसागर वारी भित्राएपछि
आज ‘उप‘ छु मित्र
भोलि ‘पिएम’ बन्नेछु
महेन्द्र चौधरीजस्तै ।
काट्ने हो चुरे
बेच्ने हो माटो
बालुवा बेच्ने, ढुङ्गा बेच्ने
जमिन बेच्ने, नदी बेच्ने
हिमाल बेच्ने, बुद्ध बेच्ने
जे जे छ , त्यहि बेच्ने
बेच्न मिल्ने पनि बेच्ने
बेच्न नमिल्ने पनि बेच्ने
आखिर बनाउनुछ फिजी
बन्नुछ महेन्द्र चौधरी ।
फ्याँक्ने नै हो संविधान
जलाउने नै हो
हिजो सडकमा बसेर जलाएँ
अब सरकारमा बसेर जलाउँछु
हिँजो संविधानको फोटोकपी जलाएँ
अब संविधानको मूलकपी जलाउँछु
‘सुशील दा’ जस्तो होइन, केपी ‘बा’
हाम्रो त सपना मिल्छ
विचार मिल्छ, दृष्टिकोण मिल्छ
स्वार्थ मिल्छ, ‘केमेस्ट्री’ मिल्छ
मलाई तिर्नुछ पुर्खाको ऋण
मलाई तिर्नुछ पारीको गुन
मलाई बन्नुछ यो देशको ‘पिएम’
र, स्वर्णअक्षरमा लेखाउनुछ नाम
‘महेन्द्र चौधरीले जस्तै ।