काठमाडौँ । लुम्बिनी प्रदेशको साहित्यबारे प्रगतिशील लेखक सङ्घ, नेपालले पैतालिसौँ परिसंवाद सम्पन्न गरेको छ ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा प्रलेस सल्लाहकार पदमप्रसाद शर्माले विषयवस्तु प्रस्तुत गर्दै २०७८ असार ४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै शर्माले समाज परिवर्तनमा हरेक आन्दोलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका लेखक–साहित्यकारको महत्त्वपूर्ण रहेको बताउनुभयो ।
‘कतिपय जिल्लाले लेखक–साहित्यकारको उक्त भूमिका लिपिबद्ध गरेका छन्, कतिपयले उद्घाटन गरेका छैनन्’ उहाँले भन्नुभयो ।
उहाँले २००७ सालभन्दा पहिले नेपालमा अलेख्य साहित्यको प्रचूरता रहेको बताउनुभयो ।
‘२००७ सालभन्दा पहिले मेलाजात्रामा जाँदा, गाईबाख्रा चराउन जाँदा, ढिकीजातो पिस्दा, गन्धर्वले कर्खा गाउँदा, भजनकीर्तन गर्दा अलेख्य साहित्य जन्मन्थ्यो’ उहाँले भन्नुभयो– ‘२००७ सालपछि स्कुल खुल्न थालेपछि बल्ल लिखित साहित्य प्रचलनमा आउन थाल्यो ।’
उहाँले कपिलवस्तु, दाङ, रुकुम र लुम्बिनीका अन्य जिल्लाहरूमा प्राचीन साहित्य लेखिएको जानकारी दिनुभयो ।
सल्लाहकार शर्माले दाङका कृष्णसेन इच्छुक दोस्रो साहित्यिक सहिद भएको बताउनुभयो ।
उहाँले पाल्पामा २०३७, दाङमा २०५०, रुपन्देहीमा २०५३, बाँकेमा २०५४, अर्घाखाँचीमा २०५६, प्युठानमा २०६०, रुकुमपूर्वमा २०७४, कपिलवस्तुमा २०७५, नवलपरासीमा २०७५, गुल्मीमा २०७५ र बर्दियामा २०६५ सालमा प्रगतिशील लेखक सङ्घका जिल्ला शाखा स्थापना भएको जानकारी दिनुभयो ।
सल्लाहकार शर्माले पठन संस्कृति प्रवद्र्धन गर्न लुम्बिनीका सबै जिल्लामा पुस्तकालय स्थापना भएर सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले प्रलेसलाई सुझाव दिँदै भन्नुभयो– ‘जिल्ला शाखाहरूको सञ्चालन, अनुगमन र समन्वय गर्नुपर्छ । ज्येष्ठ पुस्तालाई पुरस्कृत तथा उनका कृति प्रकाशन गर्नुपर्दछ । नवोदित लेखक साहित्यकारको क्षमता अभिवृद्धि गर्नका लागि तालिम, गोष्ठी सञ्चालन गर्नुपर्दछ ।’
प्रमुख अतिथि प्राडा जीवेन्द्र देव गिरीले कार्यक्रममा सारगर्भित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकारहरू राम विनय, ईन्द्र रेग्मी, डा. कपिल लामिछाने, डा. कृष्ण अधिकारी, आरसी न्यौपाने, प्रकाश थापामगर, केशव थापालगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रकाश थापामगर, दलबहादुर गुरुङ, डा. कृष्णराज अधिकारी, आरसी न्यौपानी, बिजुला रायमाझी, गिरीराज शर्मा र निमबहादुर थापाले पूरक टिप्पणी राख्नुभएको थियो ।
