कल्पना पौडेल जिज्ञासु ##
जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठा थिए । उनीहरू सधैँ सँगै चर्न जान्थे । तिनी पाठामाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो । स्यालले पाठालाई आफ्नो सिकार बनाउन दाउ हेरिरहेको थियो । तर पाठाहरू सँगसँगै चर्ने हुँदा आक्रमण गर्न सकेको थिएन ।
ती पाठाहरूमा एकदम गहिरो मित्रता र माया थियो । उनीहरू जति बेला पनि सँगसँगै रहन्थे । त्यसैले स्यालले धेरै चोटि झम्टेर खान खोज्दा तीनै वटा पाठ मिलेर स्याललाई लखेटेर जङ्गल कटाउथे ।
एक दिन स्यालले जुक्ति सोच्यो, अब यिनीहरूलाई अलग–अलग बनाउँछु र आफ्नो सिकार बनाएर खान्छु । सँगै हुँदा स्याल एउटा, पाठाहरू तीन वटा हुन्थे । स्याललाई जित्थे । अनि, आफूहरूको बचाउ गर्थे ।
अब स्याललाई झन् पाठा खाने भोक बढी जाग्न थाल्यो । पटक–पटक आफू असफल र पाठाहरू सफल भएकाले आक्रोश झन् बढेको थियो ।
स्यालले जङ्गलमा एउटा झुटो हल्ला फैलायो, ती पाठाहरू मिलेजस्तो गरेर एकअर्कोलाई धोका दिँदै छन्; मित्रता देखावटी हो । अब शङ्का उत्पन्न भयो, कुन पाठाले अर्को पाठालाई धोका दिँदै छ ? कुन सत्रु कुन मित्रु ? ठम्याउन कठिन भयो । शङ्काले लङ्का डढाउँछ भनेजस्तै उनीहरूबिच विश्वास टुट्यो । यही कारण उनीहरू अलग–अलग चर्न थाले ।
स्यालको षड्यन्त्र सफल भयो । एक दिन स्यालले तीनमध्ये एक पाठामाथि हमला गर्यो । पाठो बिचरा एक्लै चरिरहेको थियो । स्यालको फन्दामा फस्यो । एक छिन लडाइँ चल्यो । तर पाठाले जित्न सकेन । घाइते बनायो र मारेर स्यालले आफ्नो पेट गर्यो ।
अब दुई वटा मात्र पाठा बाँकी रहे । उनीहरूलाई आफ्नो पुरानो मित्रलाई अहिलेको सत्रु स्यालले खाएको थाहा भयो ।
पहिला त शङ्काले मनमा घृणा पलाएका कारण खुसी भए । खुबै मेरो विरुद्धमा षड्यन्त्र गरेको थिइस्, बल्ल ठिक भयो स्यालले खायो भने उनीहरूले । तर भोलि हामीलाई पनि त्यसरी नै खान्छ कि भन्ने ज्ञान उनीमा थिएन । यदि त्यस्तो हुन्थ्यो भने बचेका दुबै सुरक्षित रहन सक्ने थिए ।
अर्को दिन स्याल फेरि एक्लै चरेको पाठानजिक गयो । सिधै आक्रमण गर्यो र आफ्नो सिकार बनायो ।
अब एउटा पाठा मात्र बाँकी रहेको थियो । उसलाई पनि त्यसै गरी पालैपालो पाठाहरूको हत्या गर्यो । स्यालले आफ्नो जुक्तिलाई सफल बनायो ।
पाठाहरू सँगसँगै हुदाँ हरेक समस्याको मिलेर समाधान गरेका थिए । जङ्गली जनावरबाट आफ्नो बचाउ गरेका थिए । जब एकता टुट्यो । अलग भए । उनीहरूले एक्लै रक्षा गर्न सकेनन ।
एकतामा ठुलो तागत हुँदो रहेछ । फुटेर होइन, जुटेर हरेक खतरापूर्ण परिस्थितिको सामना गर्न सकिने रहेछ । तर आफूमै विश्वास नभएका कारण अरूको बहकाउमा आउनाले बिचरा पाठाहरूलाई आफ्नो ज्यान गुमाउनुप¥यो ।

