काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोँलाई असन्तुष्ट नागरिकले थप्पड हानेका छन् । राष्ट्रपतिलाई एक युवकले सडकमै थप्पड हानेको भिडिओ अहिले भाइरल भएको छ ।
देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको समयमा म्याक्रोँलाई भेट्न आएका समर्थकमध्ये एकले उनलाई झापड हानेको भिडिओमा देखिएको छ । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन् ।
चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ।
फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन ।
घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन्।
यो घटनापछि म्याक्रोँले भनेका छन्,‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्।’
माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन् ।