• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मानव समाजको विकास

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

मानव समाजको विकास


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    मानव समाजमा उत्पादक शक्तिको चेतनास्तर र संगठनात्मक अवस्थाअनुसार सामाजिक व्यवस्थाको चरित्र निर्धारण हुन्छ। उत्पादक शक्तिहरू गतिशील भई निरन्तर उच्च चेतनातर्फ अग्रसर भइरहेका हुन्छन्। उनीहरूको निरन्तर विकास भइरहेको हुन्छ।

    एकनिष्ठ परिवारको सुरुवात भइसकेपछि त्यसैअनुसारको सामाजिक व्यवस्था निर्माण हुँदै गयो। परिवार आर्थिक एकाइ हुन पुग्यो। त्यसअनुसार सामाजिक व्यवस्थामाथि वंशसम्बन्धको प्रभाव घट्दै गयो। पारिवारिक श्रम विभाजन भएर महिलाले घरभित्रको काममा मुख्य ध्यान दिनुपर्ने र पुरुषले घरबाहिरको खेतीपाती तथा पशुपालनमा मुख्य ध्यान दिनुपर्ने भयो। त्यो श्रम विभाजन स्वाभाविक पनि थियो, किनभने बच्चा जन्माउने र हुर्काउने काममा महिलाको मुख्य भूमिका हुन्छ। त्यसैले बच्चाबच्चीको स्याहारसुसार र रेखदेख गर्न घरमै बस्ने सिलसिलामा घरका अन्य कामको जिम्मेवारी पनि उनीहरूकै काँधमा पर्न गयो।

    परिवार आर्थिक एकाइ भएपछि घरबाहिरको कामबाट आम्दानी गरेर घरको आर्थिक खर्च धान्नुपर्ने भयो। त्यसो गर्दा आर्थिक जिम्मेवारी पुरुषको हुने भयो। घरको सम्पूर्ण आम्दानी र खर्चको जिम्मेवारी पुरुषको भएपछि परिवारमा उसैको अधिपत्य स्थापित हुन पुग्यो। महिलाले पुरुषको आम्दानीमा उसको अधिपत्यअन्तर्गत रहेर जीवन निर्वाह गर्नुपर्ने भयो।

    पुरुषहरूले महिलालाई प्रकृतिले दिएको महिनावारी, नौ महिनासम्म पेटमा बच्चा हुर्काउने काम र दुई वर्षसम्म बच्चालाई दूध चुसाउने कामलाई महिलाको कमजोरीका रूपमा लिएर उनीहरूमाथि अधिपत्य जमाउने काम गरे। घरमा महिलाहरूले गर्ने अन्य कामसमेत विनाआम्दानीको र अनुत्पादक कामका रूपमा गणना गर्न थालियो। यसरी महिलाहरूको स्वतन्त्रता कुण्ठित हुन पुग्यो।

    एंगेल्सले पुँजीवादी उत्पादन प्रणालीको उन्मूलन भएपछि मात्र महिलाहरूको वास्तविक स्वतन्त्रता प्राप्त हुन सक्ने बताएका छन्। आर्थिक उत्पादन सामूहिक भएपछि मात्र श्रम विभाजन योग्यता र क्षमताका आधारमा हुन गई समानता कायम हुनेछ।

    राज्यसत्ताको सुरुवात उत्पादनका साधनहरू आफ्नो नाममा दर्ता गराउने र काम गर्ने वर्गमाथि आफ्नो अधिपत्य कायम गरी दमन गर्ने उद्देश्यसहित भएको हो। सर्वसाधारण श्रमजीवी जनताबाट कर उठाएर दमनका औजार खडा गर्ने र आफूले सुविधासम्पन्न जीवन बिताउन सक्ने गरी राज्यसत्ताको गठन गरिएको हो।

    समाजको आवश्यकताअनुसार नियमन गर्ने बलियो व्यक्तिलाई छनोट गरेर उसको खर्च समाजका बाँकी सबैले उठाई पूरा गर्ने अवस्थासम्म त्यो जनप्रतिनिधि थियो। तर समय बित्दै जाँदा परिस्थिति बदलिँदै गयो। ऊ सर्वसाधारण श्रमजीवी जनताभन्दा माथिको व्यक्तिका रूपमा काम गर्न थाल्यो। उत्पादनका साधनहरू आफ्नो नाममा दर्ता गराउने वर्गका आफ्ना मान्छेहरू राज्यसत्तामा राख्दै गयो। यसरी दमनचक्र चलाउने वर्ग स्थापित हुँदै गयो। त्यसकारण राज्यसत्ता आफ्ना विरोधी वर्गलाई दमन गर्दै शासन सञ्चालन गर्ने एकाइका रूपमा विकसित हुँदै वर्तमान अवस्थासम्म आइपुगेको हो।

    राज्यसत्तालाई नागरिकहरूको हितको रक्षा गर्न खडा गरिएको वर्गोपरि शक्तिका रूपमा प्रस्तुत गरिन्छ। तर वास्तविकता त्यसको ठीक विपरीत छ। राज्यसत्ताका अङ्गहरू जनताको करबाट आफ्नो रोजगारी सुनिश्चित गर्छन्। त्यतिमात्र होइन, ती अङ्गहरूले आफूलाई समाजभन्दा माथि रहेको अभिनय गर्छन्। शोषण र भ्रष्टाचार उनीहरूकै हातमा छ। दमन गर्ने शक्ति पनि उनीहरूसँगै छ। अझ उत्पादनका साधनहरू आफ्ना नाममा सबैभन्दा बढी दर्ता भएका व्यक्तिहरू नै राज्यसत्ताका सञ्चालक छन्।

    उता जनताका समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित छन्। उत्पादनका साधनहरू दिनदिनै उनीहरूको स्वामित्वबाट खोसिँदै छन्। नाफा कमाउनेहरूका कारण उनीहरूको दैनिक जीवन गरिबीतिर ओरालो लागिरहेको छ।

    एंगेल्सले राज्यसत्ता आफ्नो प्रभुत्व कायम राख्न चाहने वर्गहरूको अधिपत्य कायम गर्ने हतियार बन्दै आएको तथ्य बताएका छन्। उनले गणतन्त्रलाई प्रजातन्त्रको हवाला दिँदै बुर्जुवा अधिपत्य कायम गर्ने एउटा ढाँचाका रूपमा प्रस्तुत गरेका छन्। पुँजीको सत्ता कायम रहेसम्म श्रमिक जनतालाई मुक्ति प्रदान गर्न सकिँदैन। मुक्तिका लागि राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ।

    समाजमा क्रान्तिकारी रूपान्तरण आवश्यक पर्दछ। त्यसका लागि उत्पादक शक्तिको चेतना र संगठनात्मक अवस्थामा आमूल परिवर्तन गर्ने उद्देश्यसहित अनुशासनको आवश्यकता पर्दछ। दासहरूको राजनीतिक उद्देश्य निश्चित भएको हुनाले उनीहरूले व्यवस्था चल्नै नसक्ने बनाए पनि आफ्नो मुक्ति हासिल गर्न सकेनन्। उनीहरू मालिकहरूका हातका गोटी बनिरहे। किसानहरूले राजनीतिक उद्देश्यसहित सचेत र संगठित भएर क्रान्तिकारी आन्दोलन सञ्चालन गर्ने तथा आमूल परिवर्तनको नेतृत्व आफैँ गर्ने काम गर्न सकेनन्।

    पुँजीपति वर्गले मजदुर र किसानहरूलाई आफ्नो नेतृत्वमा गोलबन्द गर्‍यो। उनीहरूलाई कार्यकर्ता बनाएर उदार पुँजीवादी व्यवस्था सञ्चालन पनि गर्‍यो। आफ्नो सम्पन्न वर्गीय राजनीतिक उद्देश्यसहित क्रान्ति सम्पन्न गरेर पुँजीवादी व्यवस्था अहिलेसम्म सञ्चालन गरिरहेको छ।

    पुँजीपति वर्गले संसारका सबै मान्छे भाइभाइ हौँ भन्ने शीर्ष वाक्यसहित शासन चलाइरहेको थियो। मार्क्सले पहिलोपटक ‘संसारका मजदुर एक होऔँ, मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन’ भन्ने शीर्ष वाक्यसहितको कम्युनिस्ट घोषणापत्र प्रकाशित गरे। त्यही कम्युनिस्ट घोषणापत्र मजदुर वर्गको बौद्धिक हतियार थियो। त्यस घोषणापत्रका माध्यमबाट मजदुरहरू पुँजीपति वर्गका कार्यकर्ता हुन बन्द भए।

    तर संसारका मजदुर एक हुन नसकेको अवस्थाबाट फाइदा उठाउँदै संसारका पुँजीपतिहरू एक भए। सामन्त र पादरीहरूसमेतसँग गठबन्धन गरेर मजदुरहरूको शोषण र दमनलाई अझ तीव्रता दिए। पुँजीवादले सबै समाज र पेसा–व्यवसायलाई आफ्नै साँचोमा ढालेको छ। त्यसबाट मजदुर र किसानहरूलाई आफ्नो मुक्तिका लागि काम गर्न सक्ने अवस्था कमजोर भएको छ।

    उदार पुँजीवादी व्यवस्थाबाट मजदुरहरूले संगठित भई फाइदा उठाउन सक्नुपर्ने थियो। त्यस्तो मुक्ति संघर्ष अगाडि बढाउन प्रजातान्त्रिक स्वतन्त्रताको संरक्षणले यथासम्भव बढी अनुकूल परिस्थितिको सिर्जना गर्दछ। सर्वहारा वर्गले आफैँ नेतृत्व गरेर सम्पूर्ण श्रमजीवी वर्गलाई संगठित गर्नुपर्ने थियो। त्यो काम ढिला भएको छ। पुँजीवादी समाजका उत्पादक शक्तिको विकासले शोषक वर्गलाई उत्पादनको विकास गर्न अवरोध पुर्‍याउँदै जान्छ।

    उत्पादन विकासमा हुने उत्पादक शक्तिको अवरोधले सर्वहारा क्रान्तिको अनिवार्यताको पुष्टि गर्दछ। सर्वहारा वर्ग मजदुर वर्गमध्ये सबैभन्दा उत्पीडित वर्ग हो। उसका आम्दानीका अन्य स्रोतहरू सबै समाप्त भइसकेका हुन्छन्। उसलाई श्रम बेच्न रहरले मात्र होइन, बाध्यताले पनि प्रेरित गरेको हुन्छ।

    कुनै पनि व्यक्ति परिवारको एउटा सदस्य हुन्छ। आफू एक्लै सर्वहारा हुन सक्दैन। उसका परिवारका अन्य सदस्यहरूसहितको आर्थिक भार परिवारका सदस्यहरूले श्रम गरेर पूरा गर्नुपर्ने हुन्छ। आफू परिवारको जिम्मेवार र मुख्य व्यक्ति भएर परिवारका वृद्ध, केटाकेटी, रोगी, विद्यार्थी आदिको सम्पूर्ण आर्थिक व्यवस्थापन गर्न आफ्नो श्रम बेच्न आवश्यक योग्यता विकास गर्नुपर्छ। त्यतिले मात्र पुग्दैन, आफ्नो पार्टी परिचालन गर्न आफू मातहतका अन्य अनुयायी तथा कार्यकर्ताहरूलाई समेत काम दिनुपर्छ र परिचालन गर्नुपर्छ। त्यस्तो हुन सकेन भने पार्टी गतिशील बन्दैन।

    त्यही कारणले कम्युनिस्ट पार्टीको नेता रहरले हुने होइन। नभई नहुने बाध्यताले त्यो महान् जिम्मेवारी सम्हाल्ने हो। सर्वहारा वर्गको अधिनायकवादी राज्यसत्ता प्रजातन्त्रको सर्वोच्च रूप हो। व्यक्तिको अधिकार भन्ने कुरा तत्कालीन राजनीतिक व्यवस्था र तत्कालीन सांस्कृतिक अवस्थाभन्दा माथि हुन सक्दैन। अधिकार माग्नेले अरूका अधिकार पूरा गरिदिन सक्ने क्षमताको पनि विकास गर्न सक्नुपर्छ।

    कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरूलाई दिन सक्ने स्वतन्त्रता नेतृत्वसहितको स्वतन्त्रता हो। त्यो स्वतन्त्रता अरूले दिन नसक्नेहरूका लागि केन्द्रीय नेतृत्व मातहत रहनुपर्ने स्वतन्त्रता हो। त्यो स्वतन्त्रता मात्र होइन, अनुशासन पनि हो।

    तत्कालीन जीवनको उत्पादन र पुनरुत्पादन नै इतिहासमा निर्णायक तत्त्वका रूपमा रहेका हुन्छन्। उत्पादक शक्ति र उत्पादन सम्बन्ध दुवै उत्पादनसँग सम्बन्धित पक्ष हुन्। उत्पादक शक्ति उत्पादन बढाउन लाग्नुको सट्टा राजनीतिक आन्दोलनमा सहभागी भए भने क्रान्तिकारी युग सुरु हुन्छ। निश्चित राष्ट्रका मानिसहरूको जीविकाको अवस्था र प्रचलित व्यवस्थाअन्तर्गत उनीहरूको सम्बन्ध निर्धारित हुन्छ। एकातिर श्रमको विकासको अवस्था र अर्कोतिर परिवारको विकासको अवस्था—यी दुवै पक्षबाट सामाजिक संरचना निर्धारित हुन्छ।

    समाजको विकास निम्नस्तरबाट उच्चस्तरतिर बढ्दै जान्छ। श्रमशक्ति पनि अविकसित अवस्थाबाट उच्च विकसित अवस्थामा स्तरोन्नति हुँदै जान्छ। श्रमशक्ति अविकसित अवस्थामा भएको र उत्पादनको परिणाम सीमित भएको अवस्थामा सामाजिक सम्पत्ति पनि कम हुन्छ। त्यस्तो अवस्थामा सामाजिक व्यवस्था पनि वंशात्मक सम्बन्धमा निर्भर रहन्छ।

    वंशात्मक सम्बन्धमा आधारित सामाजिक बनोटको परिधिभित्र श्रमको उत्पादनशीलता पनि बढ्दै जान्छ। श्रमको उत्पादनशीलता झन्–झन् विकसित हुँदै जान्छ। साथै निजी स्वामित्व, विनिमय, आर्थिक विषमता र अरूको श्रमशक्ति प्रयोग गर्ने सम्भावना आदि पनि बढ्दै जान्छन्। त्यसबाट वर्गचेतना र संगठनको अवस्था पनि बढ्दै जान्छ।

    सुरुमा मजदुरहरू एक्लाएक्लै र सानासाना समूहमा संघर्ष गर्छन्। अन्तरविरोध बढ्दै जाँदा पुँजीका विरुद्ध संघर्ष गर्न उनीहरूको संगठनात्मक एकता पनि बढ्दै जान्छ। वर्गीय मुक्तिको चेतनाअनुसार एकजुट भएर पुँजीको जुवा आफ्नो काँधबाट हटाउने आन्दोलनमा उनीहरू एकाकार हुँदै जान्छन्।

    त्यो आन्दोलन स्वतःस्फूर्त रूपमा मात्र अगाडि बढ्दैन। सर्वहारा वर्गको नेतृत्वमा सञ्चालित कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तामार्फत मजदुर र किसानहरूमा वर्गीय चेतना जगाउँदै उनीहरूलाई संगठित र एकताबद्ध गरेर अगाडि बढाउँछ। मार्क्सवादको बौद्धिक हतियारले किसान र मजदुरहरूको दिमागमा आसन जमाएपछि त्यो भौतिक हतियारका रूपमा विकसित हुन्छ। राजनीतिक क्रान्तिसहित आमूल परिवर्तन गर्ने उचाइ प्राप्त गर्दै जान्छ।

    नयाँ सामाजिक तत्त्वहरूले धेरै पुस्ताको सिलसिलामा पुरानो सामाजिक व्यवस्थालाई नयाँ परिस्थितिअनुकूल बनाउने प्रयास गर्दै जान्छन्। वर्गीय अन्तरविरोध बढ्दै जाने र पुरानो सामाजिक व्यवस्थालाई नयाँ परिस्थितिअनुकूल बनाउने प्रयासबीचको पारस्परिक विरोधले समाजलाई पूर्ण क्रान्तिको स्थितिमा पुर्‍याउँछ। राज्यसत्तालाई चकनाचुर पारेर मात्र नयाँ क्रान्तिकारी वर्गले आफ्नो समानताको उद्देश्यअनुसार सर्वसाधारण जनताको पहुँच भएको समाजवादी व्यवस्था स्थापना गर्न सक्छ। वंशात्मक सम्बन्ध र नयाँ सामाजिक वर्गहरूबीच संघर्षको विस्फोट हुन्छ। वर्गसंघर्षले स्वतन्त्रतापूर्वक विकास गर्छ।

    जङ्गली युगको निम्न चरण मानव जातिको शैशवकाल हो। मानिसले बोल्न सिक्नु यस युगको सबैभन्दा ठूलो उपलब्धि थियो। मानिस अरू जनावरबाट अलग र विशिष्ट हुनुका पछाडि दुई खुट्टाले टेकेर हिँड्दा हातहरू फुर्सदिला हुनु पनि एउटा महत्त्वपूर्ण कारण थियो। हात फुर्सदिला भएपछि समाउने, हान्ने आदि काममा तिनको उपयोग हुन थाल्यो। यसले दिमागको विकासमा सहयोग पुर्‍यायो।

    हतियारसमेत प्रयोग गरेर सिकार खेल्न र जङ्गली जनावरबाट आफूलाई बचाउन तथा तिनको सिकार गर्न सजिलो भएको थियो। आगोको आविष्कार भएपछि मानिसले खाना पकाएर खान सुरु गरे। त्यसो गर्दा खाना सजिलै पच्ने र दिमागको विकासमा थप सहयोग पुग्ने भयो। आगोको आविष्कारपछि टाढाटाढासम्म बसाइँ सर्न सक्ने र चिसो ठाउँमा पनि न्यानो बनाएर बस्न सक्ने अवस्था बन्यो।

    सिकार खेल्दा आहारको निश्चितता थिएन। सिकार नभेटिने वा दिनभरि लखेट्दा पनि मार्न नसकिने अवस्था हुन्थ्यो। जङ्गली युगको निम्न अवस्थाबाट मध्यम चरणमा प्रवेश गर्दा मानिसले जलचर प्राणीलाई आगोमा पोलेर खान सिक्यो। जलचर प्राणी खान सुरु गरेपछि खाना प्राप्त हुने निश्चितता बढ्यो। मात्रामा धेरै वा थोरै हुन सक्थ्यो, तर जलचर प्राणी मारेर आहार प्राप्त गर्न सकिने सम्भावना बढी थियो। जङ्गली जनावरबाट हुने आक्रमण र सिकार प्राप्त गर्न नसकिने अनिश्चितता दुवै समस्या जलचर प्राणीको सिकार गर्दा केही हदसम्म समाधान भएका थिए। तर पनि आवश्यकताअनुसारको खाना प्राप्त गर्ने समस्या पूर्ण रूपमा समाधान भइसकेको थिएन।

    घर्षणबाट आगो उत्पादन गर्ने र त्यसलाई लामो समयसम्म राखिराख्ने उपायका रूपमा ठूला र लामा मुढाहरू प्रयोग गर्न पनि मानिस पछि परेका थिएनन्। भद्दा ढुङ्गे हतियार प्रयोग गरेर सिकार गर्ने गरिन्थ्यो। बढ्दो जनसङ्ख्याको आहार पूरा गर्न थप खानेकुराको आवश्यकता बढ्दै थियो। स्थायी बासस्थानवरिपरि उम्रिएका खाद्य वनस्पति र अन्नका बालिहरू खोज्ने कामसमेत भइरहेको थियो। जङ्गली अवस्थाको मध्यम चरणमा भइरहेका खोजी कार्य, सिकार गर्न प्रयोग गरिने औजारहरूमा सुधार र उन्नत प्रकारका औजार निर्माणमा ध्यान दिँदै जाँदा मानिसले मध्यम चरणबाट उच्च चरणतर्फ फड्को मार्नुपर्ने भयो।

    धनु र बाणको आविष्कारसँगै मानव समाज जङ्गली युगको मध्यम चरणबाट उच्च चरणमा प्रवेश गरेको थियो। जङ्गली युगका लागि धनु र बाण उच्च विकसित र महत्त्वपूर्ण अस्त्र थिए। तिनको प्रयोगबाट जङ्गली जनावरको सिकार गर्न सजिलो भएको थियो। ती निर्णायक अस्त्र बनेका थिए। त्यसले गर्दा आफ्नो इलाकामा सिकार गरिरहँदा जनावरहरू सबै सकिने सम्भावना भएकाले तिनलाई पालेर आवश्यकताअनुसार प्रयोग गर्ने दिशातर्फ मानिसलाई अघि बढाएको पनि थियो।

    जङ्गली युगका लागि ढुङ्गाका हतियार, बर्बर युगका लागि धातुका तरबार र सभ्य युगका लागि अग्नेयास्त्रको निर्माण महत्त्वपूर्ण उपलब्धि थिए।

    बर्बर युगको चरण कुमालेको कला अस्तित्वमा आएपछि सुरु भएको हो। माटाका विभिन्न आकारका साना–ठूला भाँडा बनाउन सक्ने भएपछि मानव जीवन धेरै सजिलो भएको थियो। त्यसबाट मानव समाजको अझ उच्च अवस्थाका लागि आधार निर्माण भएको थियो।

    बर्बर युगको मध्यम चरण पूर्वमा दूध र मासुका लागि पशुपालन सुरु भएपछि अस्तित्वमा आएको हो। सिकार खेल्ने क्रममा जङ्गलका जनावरहरू पक्रेर पाल्दा आवश्यकताअनुसार प्रयोग गर्न सकिने भएकाले जनजीवन धेरै सहज भयो। पशुपालन गर्दा ती पशुहरूलाई खुवाउन खेती गर्न थालियो। पछि ती अन्न मानिसका लागि पनि उपयोगी भएकोले अन्नबालीका रूपमा प्रयोग गर्न थालिएको हुन सक्छ।

    पशुपालन गर्ने कामले सिकार खेलेर जीवन निर्वाह गर्ने क्रमलाई विस्थापित गर्‍यो। अन्नखेतीबाट पशु र मानिस दुवैको आहार प्राप्त हुन थाल्यो। त्यसरी अगाडि बढ्दै जाँदा मानव जीवन बर्बर युगको उन्नत चरणमा प्रवेश गर्‍यो।

    गोरु र घोडाले तानेर गुडाउने गाडा तथा युद्धरथ निर्माण गर्ने योग्यता विकास भएसँगै मानव समाज बर्बर युगको उन्नत चरणमा प्रवेश गरेको हो। मुढा र फलेकहरू प्रयोग गरेर पानीजहाजको निर्माण पनि मानिसले बर्बर युगको उन्नत चरणबाट नै सुरु गरेको हो।

    प्रकृतिमा पाइने वस्तु जस्ताको तस्तै प्रयोग गर्नु जङ्गली युगको विशेषता थियो। त्यसमा फलफूल, कन्दमूल र सिकार पर्दथे। त्यो अवस्थाबाट विकास गरेर पशुपालन र खेतीपातीको थालनी भएको युग बर्बर युग हो। जङ्गली युगभन्दा विकसित यस युगमा मानिस स्थायी बसोबास गर्न थाल्यो। त्यसपछिको सभ्य युगमा मानिसले उद्योग र कलाको विकास गर्‍यो।

    सन्दर्भ ग्रन्थ
    पुस्तकः परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति
    लेखकः फ्रेडरिक एंगेल्स
    आधारः लुइस मोर्गनको अनुसन्धानको परिप्रेक्ष्यमा
    प्रकाशकः प्रगति प्रकाशन, मास्को
    अनुवादकः राजेन्द्र मास्के
    अनुवादः रुसी भाषाबाट अनूदित
    प्रकाशनः सन् १९८६, सोभियत संघमा मुद्रित

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश
    सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’
    पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि
    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक
    सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक
    मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      मानव समाजको विकास

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    • ३.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • ४.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ५.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ६.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ७.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ८.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.