काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यक्षद्वय पशु्पति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई ‘अल्छि घोडा’ को संज्ञा दिनु भएको छ । अध्यक्ष थापाले अर्का अध्यक्षद्वयको भूमिकाप्रति निराश हुँदै पार्टी एकताप्रति नै पश्चाताप व्यक्त गर्नुभएको हो ।
थापाले आफूलाई तीव्र गतिमा दौडने घोडासँग तुलना गर्दै पार्टीका अन्य दुई अध्यक्षलाई भने ‘अल्छी घोडा’ बताउनुभएको हो । एकतापछि राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी ३ जना अध्यक्ष छन् ।
थापाले लेख्नुभएको छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो। यो सत्य नबुझेको होइन । तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’
थापाले अगाडि भन्नुभएको छ, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।’
दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन।यो नैसर्गिक सत्य हो।यो सत्य नवुझेको होईन,तर तिव्रगति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो।गतिहिन नै होला भन्ने सोचिएन।
दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला?च्यापिएर थलापर्न बेर छैन— Kamal Thapa (@KTnepal) June 7, 2021
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा। प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच गत २०७६ फागुनमा एकता भएको हो ।
पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा २०४७ सालमा पञ्चायती व्यवस्था अन्त्य भएपछि गठन भएको थियो । गठनकै बेला यसका नेता दुई धारमा विभाजन भएका थिए। त्यसयता पार्टी बारम्बार फुट्दै र जुट्दै आएको छ ।
पछिल्लोपटक २०७६ फागुन २८ गते एकता भएको पार्टी एकता महाधिवेशन नहुँदै फेरि फुट्ने संकेत देखिएको छ ।