काठमाडौं । सरकारले बजेट भाषणमार्फत खानीजन्य पदार्थ निकासी गर्ने निर्णय गरेपछि विपक्षी पाँच दलले सामुहिक प्रतिवाद गर्ने जनाएका छन् ।
शुक्रबार बसेको पाँच विपक्षी दलको बैठकले तराई–मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।
यसअघि ति दलहरुले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी चुरेको दोहन र खानीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा भारत निकासीको विरोध गरेका थिए ।
बैठकले गणतन्त्र र राष्ट्रियता र लोकतन्त्र रक्षाका लागि पनि सामुहिक रुपमै प्रतिवाद गर्ने र एक अर्का दलहरुबीच अविश्वासको वातावरण आउन नदिन प्रतिवद्धता जनाएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
यस्तै, विपक्षी दलहरुले आयोडिनयुक्त नुन सरकारले खरिद गरी बिक्रि वितरण गर्नुपर्नेमा कमिसनका लागि व्यापारीलाई जिम्मा दिएको भन्दै त्यसको विरोध गरेको छ । पछिल्लो समय स्वास्थ्य सामग्री खरिद र विभिन्न देशबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीमासमेत अनियमितता भएको बैठकले ठहर गरेको राजमो नेत्री पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा राजमोका तर्फबाट उपाध्यक्ष पौडेल र पूर्वसचिव कृष्ण अधिकारी सहभागी हुनुभएको थियो ।
बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल र भीम रावल, जनता समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवलगायत नेताहरु सअभागी हुनुहुन्थ्यो ।