तीर्थराज पोख्रेल ##
प्रिय विद्यार्थी भाइबहिनीहरू
लामो समयको मिठो सम्झना ।
अध्ययनको सिलसिलामा आफ्नो महान् लक्ष्य र अभिलाषा बोकी उज्ज्वलमय भविष्य निर्माणका निम्ति अहोरात्र सङ्घर्ष गर्दै यहाँसम्म आउन सफल जनकको जस्तो ज्ञान, सीताको जस्तो शील र बुद्धको जस्तो हृदय भएका ज्ञानै ज्ञानका कुवेर यी दुई आँखाका नानीजस्तै हरपल हाम्रो आँखाअगाडि नाचिरहने मायाका पात्र, राष्ट्रका कर्णधार, विकासका पूर्वाधार, जागरणका आधार, सिर्जना र श्रोतका संवाहक प्रिय विद्यार्थी भाइबहिनीहरू ।
म यहाँ मान्यजनहरूको आशिर्वाद र प्रिय भाइबहिनीहरूको अपार मायाका कारण विभिन्न अभावमा पनि आत्मसन्तुष्टिका साथ पारिवारिक, शारीरिक, मानसिक र संवेगात्मक रूपमा कुशल छु । एवम् प्रकारले तपाईंहरू पनि यो कोरोना कहरलाई परास्त गरी आफ्नो सुन्दर भविष्यका लागि आफ्नो जन्मभूमि र कर्मभूमिलाई विश्वसामु चिनाउन महान् कार्य गर्ने प्रेरणा र उत्साह मिलिरहोस् भन्ने कामना व्यक्त गर्दै तपाईंहरूको धेरै सम्झना आएर यो पत्र लेख्दै छु ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, अहिले तपाईंहरूको सुनौलो भविष्यको रेखा कोर्ने अत्यन्तै महत्त्वपूर्ण समयमा आउँदै गर्दा विश्वव्यापी रूपमा फैलिएको नोभल कोरोना भाइरसको कारणले सुत्केरी त होइन, सुतिरहने बनायो, अपराधी पनि होइन लुकिरहने बनायो, खै के आयो आयो ? सबैतिर घुम्दै, छिमेकी, आफन्त र आफैसँग डराइरहने बनायो । हामी सबै डरत्रासले भयभित भएका छौँ । यस अवस्थामा विद्यालयमा अध्ययन–अध्यापन गर्ने औपचारिक कार्य रोकिएका छन् ।
भौगोलिक विकटताले गर्दा आधुनिक प्रविधि तथा इन्टरनेटको सबै ठाउँमा पहुँच नपुगिसकेको हुँदा प्रिय विद्यार्थी भाइबहिनीहरूलाई औपचारिक रूपमा ज्ञान दिन नसकिरहेको यस अवस्थामा हामी आफैँ सजग र सचेत बनी आफ्नो दैनिक क्रियाकलापलाई सकारात्मक सोच लिँदै शारीरिक मानसिक तथा संवेगात्मक रूपमा स्वस्थ्य भई आफूसँग उपलब्ध भएका वैकल्पिक प्रविधिको प्रयोग गरी स्वअध्ययन कार्यलाई अगाडि बढाउनुपर्ने देखिन्छ । आसा छ, तपाईंहरूले पनि त्यसैगरी अध्ययन गरिरहनुभएको होला ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, हामीलाई थाहा छ, रुखको हाँगामा बसेको चराले हाँगामा होइन, आफ्नो पखेटामा विश्वास गर्छ । त्यसैले हामी पनि स्वअध्ययन कार्यलाई बुद्धि, विवेक र सामथ्र्य प्रयोग गरी दृढ विश्वासका साथ सधैँ निर्भिक, साहसी र उत्साहित बन्दै घरमै बसेर अध्ययनका सबै क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सुन्दर राष्ट्रको उज्ज्वल सम्भावना बोकेका सम्पूर्ण प्रिय विद्यार्थी भाइबहिनीहरू, तपाईंहरूले कठोर परिश्रम, नित्य साधना, लगनशीलता, कर्तव्यपरायणता र जिज्ञासु स्वभावलाई अँगाल्दै आलस्य , अहङ्कार, आडम्बर र उच्छृखलतालाई त्याग्दै हिमालजस्तो चिसो दिमागले, धर्तीजस्तो चाक्लो छातीले र आकासजस्तो खुल्ला मनले अदम्य साहस बोकेर छातीभरि उत्साहका सगुन बोक्दै कोरोना भाइरस विरुद्ध विजय प्राप्त गरी आफ्नो सुनौलो भविष्य निर्माण गर्ने अभिलाषाका साथ अगाडि बढनु नै अहिलेको समयको माग रहेको छ ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, तपाईंहरूलाई थाहा छ, अनुशासन र कर्तव्य असल विद्यार्थीका सुन्दर गुण हुन् भने सादा जीवन र उच्च विचार उच्च आदर्श हुन् । कर्तव्य जीवनको गन्तव्य हो भने अनुशासन त्यहाँ पुग्ने राजमार्ग हो ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, शिक्षा र विद्यार्थी एकर्काका परिपूरक हुन् । विद्यार्थीबिना शिक्षा र शिक्षाबिनाको विद्यार्थीको कुनै अर्थ हुँदैन ।
शिक्षाले मानिस महान् र अमर हुन्छ । शिक्षा ज्ञानको ज्योति हो । शिक्षाले नै मानिसलाई कर्तव्यपथमा हिँडाउँछ । शिक्षाबिना मानिस दृष्टिविहीन हुन्छ । शिक्षा जीवनका लागि हो। शिक्षाले व्यक्तिको चरित्र निर्माण गर्दछ । यसले व्यक्तिमा अन्तर्निहित शक्तिलाई प्रस्फुटन गर्दछ । त्यति मात्र होइन, समाजमा आफ्नो अस्तित्व बनाउन सिकाउँछ । यसले देशभक्ति नागरिक तयार पार्दछ, साथै शिक्षाले विश्वप्रसिद्ध महामानव जन्माउँछ ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, शिक्षा विध्वंसक होइन, रचनात्मक हुनुपर्छ । यसका लागि विद्यालय चौघेराभित्र रहेरभन्दा स्वतन्त्रतापूर्वक स्वअध्ययन कार्यलाई निरन्तरता दिने हो भने अझ प्रभावकारी देखिन्छ । भनिन्छ, अध्ययन मनोरञ्जनको उत्कृष्ट माध्यम पनि हो । नेता नेल्सन मण्डेलाले पनि आफ्नो काराबासको २७ वर्ष पुस्तक पढेर बिताएका थिए । पुस्तक पढेर मानिसले जस्तोसुकै कष्ट पनि सहन सक्छ ।
भिक्टर ह्युगोले भनेका छन्– “समझदार मानिस दुःखको समयमा पुस्तक अध्ययनबाट नै सान्त्वना पाउँछन् ।
प्रिय विद्यार्थी भाइबहिनीहरू, जसरी लुगा मैलिएपछि धुन र शरीर मैलिएपछि नुहाउन जति आवश्यक हुन्छ, त्यति नै आफ्नो मनोविकार हटाउन पुस्तक पढ्नुपर्छ ।
विद्यार्थी भाइबहिनीहरू संस्कृतमा एउटा भनाइ पनि छ– “विद्या धनम् सर्ब धनम् प्रधानम् ।” विद्या नै सबैभन्दा ठुलो धन हो ।
“विद्या ददाती विनयम् विनयाद्याति पात्रताम् । पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मस्ततः सुखम् ।”
विद्याले नै शिष्टाचार सिकाउँछ, शिष्टाचारले सत्पात्रता प्राप्त हुन्छ, योग्यताकै कारण धन प्राप्त हुन्छ, धनबाट धर्मार्जन हुन्छ र धर्म गरेपछि यस लोक र परलोक दुवैमा सुख पाइन्छ ।
अन्तमा, प्रिय विद्यार्थी भाइबहिनीहरू, मलाई विश्वास छ तपाईंहरू महामानव बन्नुहुने छ र यो प्रेरणा तपाईंहरूलाई मिलिरहोस् भन्ने कामना गर्दै अब छिटोभन्दा छिटो कोभिडलाई विश्ववाट लखेटी हाम्रै प्यारो स्कुलमा भेटेर उस्तै गरी रमाउँदै पढ्ने र पढाउने दिन आओस् भन्दै आजलाई यो पत्रबाट बिदा हुन चाहान्छु ।
उही तपाईंहरूलाई सधैँ माया गरिरहने गुरु
तीर्थराज

