काठमाडौं । राजा विरेन्द्रको वंश विनाश भएको २० वर्ष पुगेको छ । विस. २०५८ साल जेठ १९ गते भएको विभत्स दरबार हत्याकाण्डको उचित छानविन नहुँदा घटना अहिलेसम्म पनि रहश्यमय बनेको छ ।
दरबारको उच्च सुरक्षा घेराभित्र भएको सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
सो हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाइएको थियो भने हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन पनि तत्काल भत्काइएको थियो ।
हत्यामा धेरै किसिमका गोली चलेको छानविन समितिले पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र (युवराज दीपेन्द्रलाई) औंल्याइएको छ । तर, यो कसरी सम्भव भयो र उनको हत्या कसले गर्यो भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ ।
घटनाकी प्रत्यक्षदर्शी प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको थियो ।
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले निरंकुश बन्ने आकांक्षाका साथ सत्ता हातमा लिएपनि सो घटनाबारे छानबिन गर्न कुनै तदारुकता देखाएनन् । न, त गणतान्त्रिक सरकारहरुले नै त्यसबारे चासो दिएका छन् ।