गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्व रुकुम पश्चिमका क्रियाशील महिला संगठनहरु संयुक्त रुपमा विरोध गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति निकालेर महिला संगठनहरुले विरोध गरेका हुन् । रुकुम पश्चिम जिल्लामा कार्यरत राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) निकट तीन महिला संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति मार्फत बर्तमान ओली सरकारको असंवैधानिक कदमको विरोध गरेका हुन् ।
कोरोना भाइरसबाट जनता व्यापक रुपमा प्रभावित भइरहेको अवस्थामा राज्य तथा सरकारको ध्यान आम नागरिकको जीवन रक्षामा केन्द्रित हुनु पर्नेमा केपी ओली सरकार आफ्नो पद र कुर्सी जोगाउन निरन्तर रुपमा असंवैधानिक कदम चालिरहेको भन्दै संविधान र गणतन्त्रको रक्षा गर्न लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण जनसमुदायलाई संघर्ष गर्न आव्हान गरेका छन् ।
विज्ञप्तिमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला संयोजक प्रेम कुमारी सुनार, अखिल नेपाल महिला संघ जिल्ला संगठन समितिका अध्यक्ष आशा बुढा र अखिल नेपाल महिला संघ जिल्ला समितिका अध्यक्ष कल्याणी खड्काको हस्ताक्षर छ ।