पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापाले सरकार बचाउन अनेक तिकडम गर्नेले जनता बचाउन केही गर्नुपर्छ कि पर्दैन भनि प्रश्न गर्नुभएको छ ।
आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेत्री थापाले प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन नपाएर जनताले मृत्युवरण गर्नुपर्ने अवस्था आउनु प्रदेश सरकार दोषी भएको टिप्पणी गर्नुभयो ।
‘प्रदेशको ठूलो अस्पतालमा अक्सिजन नपाएर ज्यान गुमाउँदा, बेड नपाएर मृत्यवरण गरेको दोष सरकारको हो । सरकार जोगाउन अनेकौं तिकडम लगाउने तर जनता बचाउन केही नगर्ने कुरा कसरी जायज हुन्छ ?’ थापाले प्रश्न गर्नुभयो ।
उहाँले सरकार बचे ठीकै छ नत्र संसद विघटन हुन्छ भन्ने मुख्यमन्त्री र मन्त्रीहरुको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनुभयो ।
थापाले प्रश्न गर्नुभयो, ‘मेरो सरकार बचे ठीकै छ नत्र संसद विघटन हुन्छ भन्ने आशय अभिव्यक्त गर्ने अधिकार कहाँबाट आयो ?’
उहाँले जनता जोगाउन नसक्ने प्रदेश सरकार खारेज गर्नुपर्ने बताउनु भयो । बरु स्थानीय तहलाई बलियो बनाउनुपर्ने नेत्री थापाको सुझाव छ ।
‘यो चुनावको बेला हैन, जनता जोगाऊँ,’ थापाले भन्नुभयो, ‘प्रदेश सरकार खारेज गरौँ, स्थानीय सरकार बलियो बनाऊँ ।’