काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार आर्थिक अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ।
प्रतिनिधि सभामार्फत ल्यउनुपर्ने बजेट सरकारले अध्यादेशबाट ल्याउन लागेको हो । चौतर्फी विरोधका बीच सरकारले अध्यादेशबाटै आज पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ ।
संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।
आज मन्त्रिपरिषद बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अर्थमन्त्रीले बजेट भाषण गर्ने तयारी छ ।
अर्थ मन्त्रालयको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी छ। बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधि सभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रम समेटिएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।