काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सरकार निकटका व्यापारीले कमिसन विवादका कारण कोरोनाको खोप ल्याउन नदिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक वक्तव्य प्रकाशित गरी मसालले महामारीको बेला कमिसनको विवादका कारण खोप ल्याउन नदिनु समान्य कुरा नभएको बताएको छ ।
प्रवक्ता रामप्रकाश पुरीले प्रेशित गर्नुभएको वक्तव्यमा सरकारको संरक्षण विना ब्यापारीहरुले यस्तो हिम्मत गर्न नसक्ने भन्दै यो घटनाले देशलाई विचौलियाहरुले कति ठूलो प्रभाव पारेका छन् भन्ने स्पष्ट भएको बताउनुभएको छ ।
प्रधानमन्त्री निकट रहेका केही व्यापारीहरुले कमिसनको विवाद झिकेर भारतबाट कोरोनाको खोप ल्याउन नदिइएको समाचार सार्वजनिक भएको थियो ।
यस्तो छ वक्तव्यः
‘कोरोना भाइरसका कारणले सम्पूर्ण देश गम्भीर महामारीको मुखमा उभिएको बेलामा स्वास्थ्य सम्बन्धी सामग्रीको खरिदमा भएको कमिसनखोरीका गम्भीर आपत्तिजनक समाचार सञ्चार माध्यमहरूद्वारा सार्वजनिक भएका छन् । प्राप्त समाचार अनुसार करोडौँ रुपैयाको कमिसनको खेलले गर्दा भारतबाट आउने खोपहरु नेपालमा समयमा आउन नसकेको र पछि भारतमा पनि संक्रमण बढेको हुनाले त्यहाँको खोपहरुको निर्यातमा रोक लगाइएको थियो । त्यसका साथै विचौलियाहरुको कमिसनका कारणले खोपको मुल्यमा डेढि वृद्धि भएको कुरा पनि थाहा भएको छ । तैपनि कमिसनको विवाद नटुङ्गिएका कारणले त्यो बढेको मुल्यमा पनि खोप समयमा नै नेपालमा आउन सकेन । देशमा लाखौँ जनता महामारीको मुखमा उभिएको बेलामा केही उच्च विचौलिया व्यापारी घरानियाँहरुले देशलाई जसरी गम्भीर सङ्कटको मुखमा धकेलेका छन् त्यो सामान्य कुरा होइन ।
उक्त विषयलाई ने.क.पा.(मसाल)ले गम्भीर रुपमा लिन्छ । केही विचौलियाहरुको कमिसनको खेलले गर्दा नेपालका लाखौँ जनता खोपको सुविधाबाट बञ्चित हुन पुगेका छन् । त्यस प्रकारको घटनाका लागि सरकारले जिम्मेवारी लिनु पर्दछ । यो पनि प्रष्ट छ कि सरकारको पृष्ठपोषण विना बिचौलियाहरूले त्यति ठूलो खेल खेल्न सक्दैन्थे । वास्तवमा अहिलेको कमिसन सम्बन्धी खेलको घटना देशको सम्पूर्ण राज्ययन्त्रमा विचौलियाहरूको कति ठूलो प्रभाव छ ? त्यो कुरा प्रष्ट भएको छ । त्यसबाट सरकारले विचौलियाहरूको हातको औजार भएर जनताको हितका लागि भन्दा उनीहरूको कमिसनको लागि काम गरिरहेको कुरा पनि छर्लङ्ग भएको छ ।
हाम्रो पार्टीले खोपहरुको व्यापारमा भएको त्यस प्रकारको कमिसनखोरीको कडा शब्दमा विरोध र भत्र्सना गर्दै खोपको आपूर्तिको लागि शीघ्र व्यवस्था गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेलामा विरामीहरू अस्पतालमा ग्यास, भेन्टिलेटर, बेड समेतबाट बञ्चित भएर हाहाकार मच्चिरहेको छ । आवश्यक उपचारको व्यवस्था नभएर मानिसहरूको मृत्यु हुँदै गइरहेका समाचारहरू बाहिर आइरहेका छन् । त्यस्तो सङ्कटग्रस्त अवस्थामा केही विदेशी पर्वतारोही वा अन्य विभिन्न विदेशी निकायका व्यक्तिहरुले ठूला अस्पतालहरूमा ठूलो संख्यामा अग्रिम रूपमा बेडहरु होल्डिङ्ग गरेर राखेको समाचारहरू पनि बाहिर आएका छन् ।
सरकारले अहिलेको स्वास्थ्य सम्बन्धी समस्याको समाधान तथा अस्पतालहरूमा उनीहरूको उपचारको लागि प्रर्याप्त व्यवस्था गर्नुपर्ने ठाउँमा नेपालका अस्पतालमा भएका बेडहरू पनि विदेशीहरूले त्यसरी कब्जा गरेको कुरालाई सामान्य रुपमा लिन सकिन्न । त्यसले ठूला अस्पतालहरूले नेपाली जनताको स्वास्थ्य भन्दा केही नाफाका लागि काम गरिरहेको उनीहरुको गैरजिम्मेवार क्रियाकलापलाई नै बताउँछ । त्यसप्रति सरकारले पनि आवश्यक ध्यान दिन सकेको पाइन्न । यस प्रकारको स्थितिप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता, दुःख र क्षोभ प्रकट गर्दै जनताको स्वास्थ्यको समस्यामा शीघ्र ध्यान दिनका लागि सरकारसित माग गर्दछ ।’
२०७८ बैशाख २३ गते ।
रामप्रकाश पुरी
प्रवक्ता