काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यससम्बन्धी बुधबार औपचारिक पत्र पठाएर समर्थन फिर्ता गरिने नेता वर्षमान पुनले बताउनुभयो । माओवादीले अझैपनि वैकल्पिक सरकारको सम्भावना कामयै रहेको निष्कर्ष निकालेको छ।
संसद छलेर अध्यादेश ल्याइएकोमा कांग्रेसको आपत्ति
यता, नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । आज बसेको पदाधिकारी बैठकले आजै राष्ट्रपतिद्वारा जारी भएका ७ अध्यादेशको बारेमा छलफल गरी संसद छलेर ल्याइएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री सुनिलबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको विपक्षमा मत दिने निर्णय पनि गरेको छ । ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् ।