काठमाडौंँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशसभामा राजमोले अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पार्नुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) द्वारा भर्चुअल माध्यमबाट आयोजना गरिएको १३२औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘तपाईंहरू ढुक्क हुनुस्’ उहाँले भन्नुभयो– ‘गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा भोट हाल्छ ।’
कतिपय साथीहरूको काङ्ग्रेसलाई भोट हालेर बागलुङसहित गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको सङ्गठन सिद्धिन्छ भन्ने दावीलाई उहाँले अस्वीकार गर्नुभयो ।
‘साथीहरूलाई त थाहै छ नि’ उहाँले विगत स्मरण गर्नुभयो– ‘जतिबेला बागलुङ जिल्ला, गण्डकी प्रदेश र देशैभरि काङ्ग्रेसको जगजगी थियो, त्यतिबेला पनि बागलुङका साथीहरूलाई मलाई पटक पटक जिताउनुभएको हो, सांसद बनाउनुभएको हो ।’
अध्यक्ष केसीले अहिले गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्नुको अर्थ राष्ट्रिय जनमोर्चा पूरै काङ्ग्रेसको पोल्टामा जानु नभएको बताउनुभयो ।
‘हामीलाई थाहा छ, काङ्ग्रेस खराब छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘काङ्ग्रेस ठिक छ भनेर गण्डकी प्रदेशमा काङ्ग्रेसहितका पार्टीद्वारा ल्याइएको अविश्वासलाई समर्थन गरिएको होइन ।’
उहाँले प्रष्टीकरण दिनुभयो– ‘वामपन्थी भनिएको केपी ओली सरकारले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको विरुद्धमा हमला गरिरहेको छ† संविधान विरुद्ध हमला गरिरहेको छ । त्यसबाट देशलाई बचाउन त्यसको विरोधमा आउनेलाई समर्थन गरिएको हो ।’
राजमो अध्यक्ष केसीले आफूहरू काङ्ग्रेसको राजनीतिबारे प्रष्ट भएको बताउनुभयो ।
जुनसुकै पक्षको पनि गलत नीति तथा क्रियाकलापको विरोध गर्ने राजमोको नीति रहेको बताउँदै सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘काङ्ग्रेसका गलत नीतिका विरुद्ध पनि हामीले आवाज उठाइरहेका छौँ र आगामी दिनमा पनि आवाज उठाइरहने छौँ ।’

अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा उहाँले मे १ को मुख्य सन्देश कामको घण्टा निश्चित गर्नुमा रहेको बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय मजदुर दिवसले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागलाई ग्यारेन्टी गरेको छ’ उहाँले नेपालको सन्दर्भमा मजदुर र राष्ट्रिय पुँजीपति वर्ग कमजोर भए पनि उपर्युक्त मागको दूरगामी महŒव रहेको बताउनुभयो ।
खासगरी अमेरिकी मजदुर आन्दोलनको बलमा कामको घण्टा निश्चित भएको सन्दर्भ उल्लेख गर्दै उहाँले उपर्युक्त उपलब्धिको रक्षाका लागि लगातार सङ्घर्ष सञ्चालन गरिरहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपालमा प्रष्ट रूपमा मजदुर वर्ग शक्तिशाली नभइसकेकाले निम्न पुँजीपतिसहित तहतप्कालाई राजनीतिकरण गर्ने काम भइरहेको बताउनुभयो ।
‘हामीले निम्न पुँजीपतिसहितका तहतप्कालाई सर्वहाराकरण गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।
विश्व सर्वहारा वर्गले समाजवादी व्यवस्थाको अभ्याससमेत गरिसकेको सन्दर्भ उल्लेख गर्दै उहाँले विश्वभरिका मजदुरले समाजवादी अभ्यासबाट शिक्षा लिएर वैज्ञानिक समाजवादतर्फको यात्रा अगाडि बढाइरहने बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) जस्तो मजदुर वर्गको सङ्गठन सशक्त हुँदा नेपाल कम्युनिस्ट पार्टीको सशक्तीकरणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले अहिले कोभिडका कारण गम्भीर अवस्था आएको उल्लेख गर्दै मजदुर वर्गले जस्तोसुकै अवस्थामा पनि मजदुर आन्दोलन अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कम्युनिस्ट पार्टीमार्फत मजदुर वर्गको उज्ज्वल भविष्यतर्फ अघि बढ्न कार्यक्रममा आह्वान गर्नुभयो ।

ट्रेड युनियन कङ्ग्रेस अफ इन्डियाका महासचिव सञ्जय सिङ्घवीले भारतीय मजदुर वर्गको तर्फबाट नेपाली मजदुर वर्गप्रति एक्यबद्धता प्रकट गर्नुभयो ।
साम्राज्यवादीहरूले पर्यावरणको विनास गरेकाले त्यसको प्रतिक्रियास्वरूप कोरोनाजस्तो महामारी उत्पन्न भएको बताउँदै उहाँले संसारभरिका मजदुर वर्ग एकजुट भएर विश्व साम्राज्यवादका विरुद्ध उभिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
श्रीलङ्का मजदुर सङ्गठनका डा. निलन फर्नान्डेले पनि नेपाली मजदुर वर्गको आन्दोलनप्रति एक्बयद्धता जनाउनुभयो ।
उहाँले अन्ततः मजदुर वर्गको आन्दोलनले अन्ततः सफलता प्राप्त गरिछाड्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
विश्व ट्रेड युनियन महासङ्घका प्रेमलकुमार खनालले वामपन्थीकै नेतृत्वमा सरकार चलिरहेका बेला देश गम्भीर अवस्थामा हुनु चिन्ताको विषय भएको बताउनुभयो ।
कोभिडका विरुद्ध सिङ्गो देश एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले देशको सामान्य खर्च कटाएर बाँकी बजेटको सम्पूर्ण हिस्सा स्वास्थ्योपचारमा लगाउनुपर्ने बताउनुभयो ।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले मजदुर वर्गले कामको घण्टा निश्चित गरिसक्दा पनि नेपालमा अझैसम्म महिला मजदुरले समानताको अनुभूति नगरेको बताउनुभयो ।
उहाँले समान कामका लागि समान ज्याला अझै पनि लागु नभएको सन्दर्भ उठाउँदै त्यसका लागि पनि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रम महासङ्घका अध्यक्ष लोकराज भुसालको अध्यक्षतामा अगाडि बढेको थियो । महासचिव शालिकराम सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष गोविन्द बिसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तथा विश्वभरिका नेकपा (मसाल) सम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।