काठमाडौं । निर्वाचन आयोगले रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । गृहमन्त्री रामबहादुर थापाको पद खारेज भएपछि रिक्त रहेको वागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन जेठ ६ गते हुँदै छ ।
आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले मंगलबार विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।
गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रामबहादुर थापा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई सांसद पदबाट हटाएको थियो । रिक्त स्थानमा यही जेठ ६ गते निर्वाच हुँदै छ ।
निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा मंगलबार मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको छ ।