काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भएको गण्डकी प्रदेश सभा बैठक अवरुद्ध भएको छ । सत्तारुढ नेकपा एमालेका सांसदले बैठकमा अवरोध गरेका हुन् ।
पीसीआर परीक्षण गर्न माग गर्दै एमाले सांसदहरुले मंगलबारको बैठक अवरोध गरे । नेकपा सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरेलगत्तै एमाले सांसदहरु उठेर बैठक अवरोध गरेका थिए ।
प्रदेश सभामा बोल्दै सांसद पहारीले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गर्नुभयो । कतिपय सांसदहरु दिर्घरोगिसमेत भएको अवस्थामा पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन उहाँको माग थियो ।
सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेपनि एमालेका सांसदहरु भने बसेको ठाउँबाट उभिएर विरोध गरेका थिए ।