काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले अविस्वासको प्रस्ताव ल्याउने तयारी गरिरहँदा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गर्नुभएको छ ।
विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्नुभएको हो । यो सँगै अब मुख्यमन्त्री गुरुङले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि केही दिन समय पाउनुभएको छ ।
यद्यपी प्रदेश सभाका एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा प्रदेश सभाको बैठक बोलाउनुपर्ने प्रावधान छ । संविधानको धारा १८३ मा प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ । धारा १८३ को उपधारा ३ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ ।
विपक्षी दलहरुले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वानका लागि लिखित माग गर्नेछन् ।यसरी माग भएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यो पनिः
गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी
राजमोद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
राजनीतिक स्थिरताको अर्थ पृथ्वीसुब्बाको सरकार टिकिरहनुपर्छ भन्ने होइनः सांसद थापा