काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने बताउनुभएको छ । अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिएका कारण थप सचेत हुनुपर्ने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दैनिक संक्रमित ११ हजार र कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताउनुभयो । जेठ अन्तिम साता र असार पहिलो सातामा संक्रमण उत्कर्षमा पुग्न सक्ने र त्यतिबेला दैनिक संक्रमितको संख्या ११ हजार पुग्नसक्ने उहाँको भनाई थियो ।
‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ’, उहाँले भन्नुभयो, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो। त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’
मन्त्री त्रिपाठीले नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्ने, अस्पताललाई तयारी अवस्थामा राख्नका लागि उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको बताउनुभयो ।
पहिलो डोज खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो डोज
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो डोज लगाउने तयारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज यही वैशाख ७ गतेदेखि दिइने जनाएको छ ।
मन्त्रालयले जारी गरेको तालिकाअनुसार दोस्रो चरणको खोप बैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइनेछ । यसअघि माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो ।
यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान सुझाव दिएको छ ।