काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटा सो प्रकरण छानबिन गरिरहेको संसदको लेखा समिति सदस्यमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निकट सांसद बाँस्कोटालाई आफैँ मुछिएको प्रकरणको छानबिन गर्ने समितिमा सिफारिस गरिएको हो ।
बाँस्कोटा सञ्चारमन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएको थियो । त्यही कारण उहाँले मन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो । लेखा समितिले खरिदमा त्रुटि रहेको भन्दै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।
नेकपा एमालेले संघीय संसद्का महत्त्वपूर्ण विषयगत समितिका सदस्यमा विवादित सांसदलाई नै सिफारिस गरेको छ । एमाले संसदीय दलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा परेका बाँस्कोटा तथा ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट व्यक्ति राजेन्द्र गौतमलाई लेखा समिति सदस्यमा राख्न बुधबार संसद् सचिवालयलाई सिफारिस गरेको हो ।
यसैगरी एमाले संसदीय दलले संसदीय सुनुवाइ समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी, राजेन्द्रकुमार राईलाई सिफारिस गरेको छ । त्यस्तै हाल कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य रहेका प्रधानमन्त्री ओली निकट महेश बस्नेतलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सार्न सिफारिस गरिएको छ ।