काठमाडौं । सांसदहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन चाहेको सरकारलाई लगानीका क्षेत्रबारे स्पष्ट पार्न माग गरेका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यस सम्बन्धमा स्पष्ट पार्न सम्बन्धित मन्त्रीलाई समितिमा आएर स्पष्ट पार्न निर्देशन दिएको छ ।
कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताए । सरकारले कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् ।
बैठकमा बोल्दै समिति सभापति विमल प्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो । स्पष्ट रुपमा विधागत रुपमा छुट्याउनुपर्ने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको दाबी गर्नुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको उहाँको भनाई थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रेम नारायण कंडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लगानी गर्न नीजि क्षेत्रहरु पनि आकर्षित रहेको सन्दर्भमा त्यस तर्फपनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ ।