काठमाडौं । नेपालमा अब दैनिक २० किलो सुन आयात हुने भएको छ । सुनको आयात बजार मागभन्दा कम भएको भन्दै व्यवसायीहरुले निरन्तर दबाब दिएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाउन वाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ ।
हाल १० केजी मात्रै आयात भइरहेको सुनको कोटा बढाएर राष्ट्र बैंकले २० केजी पुर्याइएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको जनाएको छ।
कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए। अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ ।
लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो।