• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चौथो राष्ट्रिय सम्मेलन सफल पारौँ


  •   बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    राष्ट्रिय जनमोर्चाले २०७७ चैत २४, २५ र २६ गते आफ्नो चौथो राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ । तेस्रो राष्ट्रिय सम्मेलन २०७२ फागुन ७, ८ र ९ गते बुटवलमा भएको थियो । झण्डै पाँच वर्षपछि चौथो राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । सङ्गठनले सम्मेलनको मुख्य नारा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, सङ्घीयताको खारेजी र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौँ” भन्ने तय गरेको छ । यही नाराको वरिपरि नै देशको समग्र राजनीतिको चक्र पनि घुमिरहेको पाइन्छ ।

    देशमा गणतन्त्रको स्थापना भएको छ । गणतान्त्रिक संविधानको कार्यान्वयनका लागि स्थानीय, प्रादेशिक तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने दर्जनौँ कानुन प्रतिनिधि सभाले पारित गरेको छ । त्यस अर्थमा गणतन्त्र संस्थागत भएको छ । तर कुनै व्यवस्था संस्थागत हुँदैमा त्यो स्वतः सुरक्षित हुन्छ भन्ने होइन । सर्वप्रथम त नयाँ व्यवस्थाले पुरानो व्यवस्थाभन्दा तुलनात्मक रूपमा फरक अनुभूति जनतालाई दिन सकेको छ वा छैन भनेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

    राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएकाले राजनीतिक प्रणाली फेरिएको छ । तर फेरिएको प्रणालीअनुरूप जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रका समस्या केही मात्रामा भए पनि समाधान हुनुको सट्टा झन् विकराल भएका छन् । बेरोजगारी बढ्दो छ । भ्रष्टाचार झन् संस्थागत भएको छ । महङ्गी लगातार वृद्धि भएको छ, जसको परिणाम यो व्यवस्थाप्रति जनतामा असन्तोष र वितृष्णा फैलिएको छ । जनताको असन्तोषलाई आफ्नो प्रतिगामी राजनीतिक उद्देश्यपूर्ति गर्ने हतियारको रूपमा राजावादी र प्रतिक्रियावादी शक्तिले उपयोग गरिरहेका छन् । त्यस सवालमा प्रतिक्रियावादीहरू धेरै हदसम्म सफल भएका छन् ।

    निश्चित रूपले बुर्जुवा व्यवस्थाअन्तर्गत उत्पन्न हुने सङ्कटले क्रान्तिलाई समेत मद्दत पु-याउँछ । तर त्यसका लागि अनिवार्य सर्त भनेको देशको राजनीतिक समीकरण पनि क्रान्तिअनुरूप हुनुपर्दछ । अहिले देशको वर्तमान राजनीतिक शक्ति समीकरणलाई हेर्ने हो भने त्यसको ठाउँमा राजतन्त्रको स्थापना हुने खतरा छ । प्रतिक्रियावादी वा बुर्जुवा व्यवस्थाभित्र उत्पन्न हुने सङ्कटले सधैँभरि अग्रगामी व्यवस्थालाई निम्त्याउँछ भन्ने होइन । यदि त्यस्तो हुन्थ्यो भने २००७–१७ सालको बिचमा संसदीय व्यवस्थाभित्र उत्पन्न हुने सङ्कट र अन्तरविरोधले जनवादी व्यवस्था स्थापना हुनुपर्दथ्यो, तर हुन सकेन । तत्कालीन अवस्थामा राजाको स्थिति बलियो थियो । राजाले ती सबै अन्तरविरोधलाई उपयोग गरेर प्रजातन्त्रलाई फालेर निरङ्कुशता लादेका थिए । २०४७ सालपछिको संसदीय व्यवस्थाको विकृति–विसङ्गति र अन्तरविरोधले अग्रगमनमा आधारित राजनीतिक प्रणाली स्थापना गर्नुको सट्टा राजतन्त्र स्थापना ग-यो । तत्कालीन अवस्थामा बुर्जुवा क्रान्तिकारी शक्ति बलियो भएको भए राजा ज्ञानेन्द्रले कू गर्न सक्दैनथे । तर १९१७ मा रुसका पुँजीवादी व्यवस्थाभित्र देखिएको सङ्कटलाई क्रान्तिकारीहरूले उपयोग गरे । तत्कालीन शक्ति समीकरणमा उनीहरू अन्य पक्षभन्दा बलिया थिए, जसको परिणाम समाजवादी व्यवस्था स्थापना भयो† अर्थात् कुनै प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत उत्पन्न सङ्कटलाई उपयोग गर्ने क्रान्तिकारीहरूको शक्ति बलियो छ वा प्रतिगमनकारीको ? त्यसैमा भर पर्दछ ।

    पुँजीवादभित्र उत्पन्न सङ्कटलाई कतिपय अवस्थामा फासीवादीले पनि उपयोग गरेको पाइन्छ । प्रजातन्त्रलाई समाप्त गरी फासिवादी शासन स्थापना गरेको इतिहास पनि पाइन्छ† जस्तै– हिटलर र नेपोलियनको जन्म संसदीय व्यवस्थाबाट नै भएको हो । तर जहाँ राजावादी शक्तिहरू बलिया हुन्थे, त्यहाँ प्रजातन्त्रलाई फालेर राजतन्त्रको स्थापना भएको उदाहरण पाइन्छ† जस्तै– नेपालको हकमा राजा महेन्द्र र ज्ञानेन्द्रले प्रजातन्त्र फालेर निरङ्कुशता लादेका थिए ।

    वर्तमान अवस्थामा गणतन्त्रका विरुद्ध राजतन्त्रको पक्षमा नारा लागिरहेको छ । गणतन्त्रवादी शासकका कुशासनको कारण उत्पन्न समस्याले गर्दा त्यसको विकल्पमा राजतन्त्रको पक्षमा देशको जनमतलाई प्रभावित पार्ने काम भइरहेको छ । त्यसैले गणतन्त्रका विकृति, विसङ्गति गणतन्त्रवादी शासकका गलत नीतिको हामीले भण्डाफोर गर्नुपर्छ । हामीले गर्ने विरोध वा भण्डाफोरले प्रतिक्रियावादी शक्तिलाई गणतन्त्र फाल्नका लागि सहयोगी सिद्ध नहोस् भन्नेतर्फ पूरा ध्यान दिनुपर्दछ । त्यसैले गणतन्त्रवादी शक्तिका कुशासनको कारण गणतन्त्र खतरामा परेको हुनाले त्यसको रक्षा अहिलेको हाम्रो मूल कार्यनीति बन्न जान्छ । गणतन्त्रको रक्षालाई अहिलेको मूल कार्यनीति बनाउनुको तात्पर्य सामन्तवादलाई सम्पूर्ण रूपमा पराजित गर्नका लागि नै हो । पुँजीवाद र सामन्तवादका बिच अन्तरविरोधमा पुँजीवादको पक्ष लिएर सामन्तवादलाई थप कमजोर पार्नु नै हो । सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशील सामाजिक चरण हो ।

    सामन्तवाद कमजोर भएर राजनीतिक समीकरणबाट हट्नेबित्तिकै स्वतः हाम्रो कार्यनीति फेरिन्छ । हाम्रो मुख्य सङ्घर्ष पुँजीवादसँग हुन जान्छ तर यदि अहिलेको शक्ति समीकरणले हाम्रो शक्तिले सामन्तवाद र दलाल पुँजीवाद दुई वटैलाई व्यावहारिक रूपले निषेध गरेर जनवादी व्यवस्था ल्याउन सक्ने स्थिति भए पनि हामी त्यसबाट पछाडि हट्छौँ भने त्यो दक्षिणपन्थी बाटो समातेको हुन्छ । तर परिस्थिति परिपक्व नहुँदै परिस्थिति परिपक्व बनाउने अथक प्रयासबाट पछि हटेर दुई वटैलाई निषेध गर्ने कार्यनीति अपनाउँछौँ भने त्यसले दुस्साहसको बाटोतर्फ लैजान्छ । त्यो कार्यनीतिले न त जनवादी व्यवस्था स्थापना हुन्छ, न त तत्कालका उपलब्धि जोगिन्छन् । त्यसको परिणाम प्रतिगमनको सेवा हुने छ । त्यसैले हामीले गणतन्त्रको रक्षालाई तात्कालिक कार्यनैतिक नारा बनाउनु अहिलेको परिस्थितिको उपज हो । त्यसका साथै हामीले रणनीतिक कार्यक्रमको प्रचार प्रसार र जनमत बनाउनका लागि पनि ध्यान दिनुपर्दछ ।

    वर्तमान अवस्थामा गणतन्त्रवादी शक्तिका लगत नीतिले गणतन्त्र कमजोर भएको छ । गणतन्त्रवादी शक्ति जनताका बिच बद्नाम छन् । गलत नीति र कार्यशैलीका कारण उनीहरूमाथिको जनताको विश्वास गुम्दै गएको छ । जनताले यसको विकल्प चाहिरहेका छन् । तत्कालका लागि गणतन्त्रवादी शक्तिहरूको विकल्प क्रान्तिकारी शक्ति हुने भए वा बुर्जुवाको स्थान क्रान्तिकारीले लिन सक्ने भए देश सही दिशामा जान्थ्यो । तर गणतन्त्रको विकल्प राजतन्त्र बन्यो भने देश त प्रतिगमनतर्फ जान्छ ।

    अझ त्यसमा पनि गणतन्त्रवादी शक्तिले समेत राजावादीलाई मद्दत पु¥याउने नीति अपनाइरहेका छन् । नेकाभित्रको एउटा पक्षले हिन्दु राज्यको पक्षमा आवाज उठाइरहेको छ । केही वामपन्थी समूहले पनि हिन्दु राज्यमा जोड दिएका छन् । प्रधानमन्त्री कपी ओलीको पशुपतिनाथको दर्शन प्रकरणले हिन्दुवादी अर्थात् भारतीय संस्थापत पक्षको समर्थन लिन गरिएको देखिन्छ । राजावादी र केपी पक्षीय एमालेका बिच अघोषित कार्यगत एकता भएको देखिन्छ । राजावादीले केपीको संसद भङ्ग गर्ने निर्णयको स्वागत मात्र गरेका छैनन्, त्यसको पक्षमा खुलेर लागे । अहिले पनि संसदको पुनस्र्थापनालाई विरोध गर्ने सवालमा राजवादी र केपी पक्षीय एमाले एक ठाउँमा उभिएका छन् । पुनस्र्थापित संसदलाई भङ्ग गरेर मध्यावधि निर्वाचनमा जाने सवालमा समेत यिनीहरूका नीति मिलेको छ । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्रले केपीको प्रशंसा गरेर “उनको मात्र भर छ” भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर पूर्व एमाले र माओवादी–केन्द्रको रूपमा कायम भएका छन् । एमालेभित्र पनि आन्तरिक एकता गम्भीर रूपले खल्बलिएको छ । उनीहरू भावनात्मक रूपमा विभाजित छन् । यावत् कारणले गणतन्त्रवादी शक्तिहरू कमजोर हुँदै गएका छन् । यदि क्रान्तिकारी बलिया भएको भए गणतन्त्रवादी कमजोर भएकोमा दुःखमनाउ गर्नुपर्ने कारण थिएन । तर गणतन्त्र र क्रान्तिकारी शक्तिहरू दुवै कमजोर भएको अवस्थामा त्यसको लाभ कसले लिने छ ? यो सामान्य राजनीतिक ज्ञान भएकाले पनि सहज अनुमान गर्न सक्छ । त्यसको लाभ राजावादी शक्तिलाई हुने छ ।

    “वामपन्थी” शक्तिबाट गणतन्त्र फालेर जनगणतन्त्र ल्याउने नारालाई व्यावहारिक बताएर गणतन्त्रमाथि हमला गर्ने काम भएको छ भने प्रतिगामी राजनीतिक शक्तिले प्रतिगामी राजनीतिक उद्देश्यप्राप्तिका लागि गणतन्त्रमाथि हमला गरिरहेका छन् । बेग्लाबेग्लै उद्देश्य र नियतबाट गणतन्त्रमाथि प्रहार गरे पनि त्यसले एउटै परिणाम दिने छ । त्यो भनेको गणतन्त्र कमजोर पार्नु हुने छ– प्रतिगमनका लागि आधार तयार हुने छ । त्यसैले यी सबै अवस्थामाथि ध्यान दिएर हामीले गणतन्त्रको रक्षाको नारा दिएका छौँ । यो नारालाई राष्ट्रिय सम्मेलनको मुख्य नारा बनाएका छौँ ।

    नेपालको इतिहासमा हाम्रो देशको राष्ट्रियता अहिलेसम्म यति कमजोर भएको थिएन । यद्यपि २००७ देखि १०१७ सालको दौरान नेपालमाथि भारतले विभिन्न प्रकारका हस्तक्षेप गरेको छ । राजनीति, आर्थिक, यहाँसम्म कि नेपालको उत्तरी सीमामा भारतीय सेना तैनाथ गरेर सुरक्षाक्षेत्रमा समेत हस्तक्षेप गरेको थियो । भारतीय राजदूत नेपालको मन्त्रिमण्डलको बैठकमा भाग लिन्थे । मन्त्रिमण्डलमा कुनै विवाद उत्पन्न भएमा नेहरूको मध्यस्थतामा दिल्लीमा मन्त्रिमण्डलको बैठकसमेत बस्ने गर्दथ्यो । २०६२–६३ को जनान्दोलनपछि भारतले माओवादी र मधेसवादीलाई हतियार बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको थियो । प्रधानमन्त्री, राष्ट्रपतिमा कसलाई चयन गर्ने वा हटाउने ? त्यो भारतको इच्छामा हुन थालेको छ । आफूअनुकूलको सरकार बनाउन भारतले विभिन्न षड्यन्त्र गर्ने गरेको छ ।

    भारत पक्षीय तर देशको तात्कालिक राजनीतिमा भारतीय नीतिसँग असहमति राख्ने आफ्नो पार्टीमा फुट पैदा गरेर टुक्राउने गरेको छ । नेपालको दैनिक प्रशासनसँग सम्बन्धित विषयमा समेत भारतले दबाब दिने गरेको छ । अहिले दशेमा कायम अन्यौलपूर्ण राजनीतिक अवस्था भारतको उक्साहटमा उत्पन्न भएको हो । गत भाद्रमा भारतको गुप्तचर संस्थाका प्रमुख र प्रधानमन्त्री ओलीबिच भेटघाट भएपश्चात नै ओलीले संसद भङ्ग गर्ने कदम उठाएका थिए । सर्वोच्चले संसदको पुनस्र्थापना गरे पनि भारत पक्षीय दलले वर्तमान सरकार नै कायम राख्ने वा पुनः संसद भङ्ग गरी मध्यावधिमा नै जाने रणनीति बनाएका छन् ।

    भारत नेपालको नागरिकता नीतिलाई फितलो बनाएर भारतीयलाई नागरिकता दिलाउनका लागि सरकारमाथि विभिन्न दबाब दिने गरेको छ । संविधान र कानुनमा संशोधन गर्ने, नेपाललाई दबाब दिएर आफूअनुकूल नागरिकता नीति निर्माणमा दबाब दिने गरेको छ । त्यसको परिणाम नेपालको जनसङ्ख्यालाई भारतीय जनसङ्ख्याले अतिक्रमण गर्दै लगिरहेको छ । यो स्थिति जारी रहेमा नेपालमा नेपाली अल्मपतमा पर्ने र वैधानिक रूपले नेपाल भारतमा गाभिने खतरा बढेको छ ।

    भारतले समेत विवादित भनेर सीमाङ्कन गर्ने कार्य रोकेको कालापानीसहितको भूभाग आफ्नो नक्सामा सामेल गरेको विरोधमा नेपालले उक्त भूभागलाई आफ्नो नक्सामा सामेल गरी संविधान संशोधन गरेको छ । त्यसका विरुद्ध भारतले कडा रवैया अपनाएको छ । नेपालले कालापानीसहितको विषयमा भारतसँग द्विपक्षीय वार्ताका लागि गरिरहेको विभिन्न प्रयासलाई अस्वीकार गरेको छ । कालापानी भारतीय भूभाग भएको झुटो दावी गरिरहेको छ । भारत नेपालमा राजनीतिक अस्थिरता बढाएर आफ्नो स्वार्थ पूरा गर्न चाहिरहेको छ । त्यसैले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कमजोर भएकाले त्यसको रक्षा हाम्रो आन्दोलनको मुख्य प्रश्न बनेको छ ।

    २०६२–६३ सालको जनान्दोलनको मुख्य उपलब्धिमध्ये धर्म निरपेक्षता एउटा हो । धर्म निरपेक्षतामाथि हिन्दु अतिवादी र क्रिस्चियनहरूले बेग्लाबेग्लै उद्देश्यप्राप्तिका लागि आक्रमण गरिरहेका छन् । हिन्दुवादीहरूले हिन्दु धर्मलाई प्रयोग गरेर धर्म निरपेक्षतामाथि आक्रमण गरेका छन् । हिन्दु धर्मलाई प्रतिगामी राजनीतिक उद्देश्यप्राप्तिका लागि हतियार बनाएका छन् । उनीहरू धर्म निरपेक्षतालाई समाप्त गरेर यसको ठाउँमा हिन्दु राज्य कायम गर्न चाहन्छन् । त्यसैगरी पश्चिमा शक्ति आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्नका लागि क्रिस्चियन धर्मलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् । धर्मलाई राजनीतिक उद्देश्यप्राप्तिको हतियार हुन नदिन नै धर्म निरपेक्षताको अवधारणाको विकास भएको हो । हामीले हिन्दुवादी र क्रिस्चियनका प्रतिगामी राजनीतिक स्वार्थलाई नियन्त्रण गर्नका लागि धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने आवश्यकता छ ।

    सङ्घीयता निकै बोझिलो र खर्चिलो व्यवस्था भएको पुष्टि हाम्रो देशको अनुभवबाट समेत सिद्ध भइसकेको छ । देश सङ्घीयतामा गइसकेपछि प्रशासनिक खर्च बढेर गएको छ । आ.व. २०७७–७८ को झण्डै १४ खर्ब बजेट हेर्ने हो भने हाम्रो वार्षिक आम्दानीभन्दा खर्च अत्यधिक रहेको छ । हाम्रो वार्षिक आम्दानी आठ खर्बभन्दा केही बढी छ । तर प्रशासनिक खर्च मात्रै ९ खर्ब छ । आम्दानीभन्दा एक खर्ब रुपियाँ अतिरिक्त प्रशासनिक क्षेत्रमा खर्च भइरहेको छ । करिब छ खर्ब रकम आन्तरिक वा बाह्य ऋण नकाढी प्रशासनिक तथा विकास खर्च धान्न सक्दैनौँ ।

    सङ्घीयतालाई धान्ने दुई वटा तरिका छन् : एउटा जनतामाथि करवृद्धि, दोस्रो विदेशी ऋण । करमा भइरहेको वृद्धिले जनता मर्माहत छन् । कति दिदसम्म यसरी सङ्घीयता धान्न सकिन्छ ? विदेशीसँग ऋण काढ्ने हो भने उनीहरूको सर्तअनुसार सङ्घीयता सञ्चालन गर्न तयार हुनपर्ने छ । अहिलेसम्म केन्द्रीय सरकारले उपलब्ध गराएको रकमको आधारमा प्रदेशले आफ्नो वार्षिक बजेट तयार गर्दै आएको छ । सबै प्रदेशको वार्षिक आम्दानी हेर्ने हो भने औसतमा १० करोडभन्दा बढी छैन । तर उनीहरूको वार्षिक औसत खर्च झण्डै तीन खर्बभन्दा केही बढी छ । तीन खर्बमा झण्डै झण्डै औसतमा एक खर्च ८० अर्ब रुपियाँ प्रदेशको प्रशासनिक क्षेत्रमा खर्च भइरहेको छ । तीन खर्बको हिसाबले पनि सात प्रदेशलाई झण्डै २१ खर्बभन्दा बढी रकम दिनुपरेको छ । तर प्रदेशको कुनै उपयोगिता छैन । प्रदेशलाई बजेट छुट्याउनुपर्ने भएकाले स्थानीयतहको बजेटमा कटौती गर्नुपरेको छ भने केन्द्रका कतिपय योजनामा रकम घटाउनुपरेको छ । त्यसैले प्रदेशको तह अनुपयुक्त छ । वार्षिक औसतमा २१ खर्ब रुपियाँ खर्च गरेर पनि उपलब्धि छैन । त्यसैले प्रदेशको शासकीय स्वरूपलाई खारेज गरेर जिल्लाबिच समन्वय गर्नका लागि प्रदेशमा प्रशासनिक निकाय कायम गर्नुपर्दछ ।

    देशको आन्तरिक एकतालाई टुक्राउन सङ्घीयता विदेशीहरूका लागि राम्रो हतियार बनेको छ । सिङ्गो तराईलाई एक प्रदेश बनाएर पहाडबाट अलग गर्ने, पहाडलाई विभिन्न जातीय राज्यमा विभाजन गरेर त्यस माध्यमबाट त्यहाँ विखण्डनका लागि आधार तयार पार्न खोजिँदै छ । नेपालको संविधानको धारा २७४ लाई संशोधन गर्नका लागि भारतले मधेसवादीमार्फत प्रयास गरिरहेको छ । सङ्घीयता आर्थिक, राजनीतिक, सुरक्षा, देशको राष्ट्रियताको रक्षा कुनै पनि प्रकारले नेपालको हितअनुकूल नभएकाले त्यसलाई खारेज गर्नका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।

    राजावादी शक्तिले पनि सङ्घीयताको विरोध गरिरहेका छन् । राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् । त्यस अवस्थामा उनीहरूले सङ्घीयता विरुद्धको जनमतलाई प्रयोग गरेर देशमा राजतन्त्र स्थापना गर्न खोजेका छन् । त्यसबारेमा हामी प्रष्ट हुनुपर्दछ । ओली पक्षीय एमालेले पनि सङ्घीयताका विरुद्ध आवाज उठाइरहेका छन् । तल्लो पङ्क्तिले उनीहरूले सङ्घीयताका विरुद्ध उठाएको आवाजलाई सकारात्मक मान्नुपर्दछ । तर ओली पक्षीय एमालेले संसद विघटन गरेको, विघटित संसद पुनस्र्थापना हुँदा पनि पुनः त्यसलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने नीति अपनाएका छन् । उनीहरूको यो नीतिले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामाथि आँच पु-याउने काम भएको छ । त्यसैले एमालेको गलत नीतिका कारण गणतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा सङ्घीयताको विरोधमा उनीहरूसँग सहकार्य हुन सक्दैन ।

    भ्रष्टाचार नेपालको डरलाग्दो समस्याको रूपमा देखिएको छ । राजनीतिको माथिल्लो तहबाट नै भ्रष्टाचार हुने भएकाले त्यसको दुष्परिणाम राज्यका विभिन्न निकायमा परेको छ । प्रशासन, प्रहरी, सेना यहाँसम्म कि न्यायालयजस्तो संवैधािनक निकायसमेत भ्रष्टाचारका अखाडा बनेका छन् । न्यायालयमा न्याय खरिदविक्रीको वस्तु बनेको छ । भ्रष्टाचारका विरुद्ध प्रभावकारी कानुनको अभाव छ ।

    भ्रष्टाचारका विरुद्ध कारबाही गर्ने भनेर गठित भ्रष्टाचार निवारण आयोग झन् भ्रष्टाचारमा लिप्त छ । भ्रष्टाचारीलाई राजनीतिक तहबाट संरक्षण गर्ने काम भइरहेको छ । त्यसैले भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।

    उपर्युक्त सबै अवस्थामाथि ध्यान दिँदा चौथो राष्ट्रिय सम्मेलनको मुख्य नारा गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ, भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ ठोस परिस्थितिको ठोस विश्लेषणमाथि आधारित छ ।

    बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.