बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले प्रदेश सरकारलाई जनताले दिएको मत खेर गएको बताउनुभएको छ । बुधबार सुरु भएको लुम्बिनी प्रदेशको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद जिसीले प्रदेश सरकारले विकास र सुशासनका जतिसुकै प्रचार र आत्मसन्तुष्टी लिए पनि जनताले दिएको अभिमत खेर गएको बताउनुभएको हो ।
अधिवेशनमा राजमोको तर्फबाट शुभकामना दिर्दै सांसद जिसीले प्रदेश सरकार र संसदले कुनै राम्रो काम गर्न नसकेको जिकीर गर्नुभएको हो ।
संविधान, राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी आदी उपलब्धिहरू धरापमा परेको बेला सरकारले सत्ता टिकाउन विभिन्न पक्षसित गर्न खोजिएको सौदाबाजीलाई कुनै पनि हालतमा सहि मान्न नसकिने उहाँको तर्क थियो । राजनैतिक पूर्वाग्रहका कारण विपक्षीलाई लगाइने भुठ्ठा मुद्दा खारेज हुनुपर्ने बताउँदै उहाँले फौजदारी जस्ता जघन्य अपराधलाई राजनैतिक रंग दिई अपराधीलाई उन्मुक्तिको प्रयास सह्य नहुने बताउनुभयो ।
उहाँले सत्ताकै लागि देशको अखण्डता र सार्वभौम सत्ता समेतमा खलल पुग्ने प्रकारका शर्तहरू समेत अगाडि सारिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो ।
उहाँले विभिन्न सञ्चार माध्यममा एमसीसी पास नहुँदै त्यसको ठूलो हिस्सा रकम सरकारले हिनामिना गरेको सार्वजनिक भएको बताउनुभयो । ‘धन देख्दा महादेवका तीन नेत्र’ भनेझैं नेपालको सत्ता चलाउछौँ भन्ने नेताहरूको प्रवृत्ति पटकपटक सतहमा आउने गरेको उहाँले बताउनुभयो ।
एमसीसी पास नगर्न देशव्यापी विरोध भैरहेको अवस्थामा पनि नेपाललाई अमेरिका–चीन लगायत शक्तिराष्ट्रको क्रिडास्थल बनाउन खोजिएको हो रु भनि प्रश्न गर्नुभयो । उहाँले पछिल्लो समय भ्रष्टाचार र कुशासन बढेको भन्दै त्यसको विरोध गर्नुभयो ।