काठमाडौं । खातामा रकम नभएको चेक दिएर एक करोड ८५ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्लाको गौरादह नगरपालिका–१ घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटीएको टोलिले पक्राउ गरेको हो ।
ढुंगानाले गत२०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर उर्मिला कँडेललाई दिएको सीआईबीले जनाएको छ ।
पीडित उर्मिला कँडेलको जाहेरीले ढुंगानालाई बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले एक महिना कैद र विगो बमोजिम एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो ।
उक्त सजाय बेरुजू रही फरार रहेका ढुंगानालाई प्रहरीले धुम्बाराहीमा लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।